११ श्रावण २०८१, शुक्रबार

डाक्टर केसी अनशन : समर्थनमा स्वास्थ्य संस्थाहरूले ठप्प पारे उपचार सेवा



धनगढी । चिकित्सा शास्त्र तथा स्वास्थ्य सेवा सुधारको माग राख्दै २० दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा बिहीबार कैलालीसहित प्रदेश ७ का निजी तथा सरकारी स्वास्थ्य संस्थाले अतिआवश्यक सेवा बाहेक अन्य सबै सेवा ठप्प पारेका छन् ।
आमरण अनशनको २० दिन पुग्दासम्म सरकारले डाक्टर केसीका मागको सम्बोधनका लागि कुनै चासो नलिएको भन्दै नेपाल चिकित्सक संघ प्रदेश ७ ले प्रदेश भरीका स्वास्थ्य संस्थामा अतिआवश्यक सेवा बाहेक अन्य सबै सेवा ठप्प पारेको जनाएको छ ।
सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारसम्बन्धी विधेयक ल्याउने वातावरण बनाउन माग गर्दै आमरण अनशनमा बसेका डाक्टर केसीले जीवन नै त्याग्नुपर्ने परिस्थिति आइरहेकाले उनको माग पुरा गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ ।
ग्रामीण भेगका जनताको समस्यालाई मध्यनजर गर्दै डाक्टर केसी आफनो ज्यान समेत दिन तयार हुँदासम्म सरकारले बेवास्ता गरेकाले प्रदेश ७ मा पनि एक दिनका लागि सबै अस्पतालका आकश्मिक सेवा बाहेक अन्य सेवा ठप्प पारेको नेपाल चिकित्सक संघ प्रदेश ७ का अध्यक्ष डाक्टर प्रमोद जोशीले बताए ।
सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने उनले बताए ।
स्वास्थ्य सेवा ठप्प हुँदा अस्पतालमा उपचार गर्न आएका बिरामीहरू भने उपचार नपाउँदा समस्यामा परेका थिए । टाढा–टाढाबाट उपचारका लागि आएका बिरामीहरू झन मारमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार