२ माघ २०८१, बुधबार

सम्झौता अवधि सकिए पनि काम पुरा भएन



धनगढी । निर्माण सम्झौता अवधि सकिए पनि धनगढी बसपार्क स्तरोन्नति काम पुरा हुनसकेको छैन । बसपार्क स्तरोन्नती काम गत (असार) २५ गतेभित्र पुरा गरिसक्नुपर्ने सम्झौता रहेको थियो ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गतको बसपार्क स्तरोन्नती आयोजनाको अझैं २५ प्रतिशत बढी काम हुन बाँकी रहेको बताइन्छ ।
सम्झौता अवधिमा काम पुरा नभएपछि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले समय थप्ने तयारी गरेको छ । थप २५ प्रतिशत काम पुरा गर्न ६ महिनाको समयावधि थपिने डिभिजन कार्यालय प्रमुख रबिन्द्र बोहराले बताए ।

फाइल तस्बिर

बसपार्कमा असार लागेपछि मात्र कालोपत्रे गर्न शुरु गरिएको थियो । केही दिन वर्षाकै बीचमा समेत कालोपत्रे गरिएको थियो । चारैतिरबाट आलोचना भए पछि अहिले कालोपत्रे गर्ने काम स्थगित गरिएको छ । डिभिजन प्रमुख बोहराले वर्षा भएकाले कालोपत्रे गर्न रोकेको बताए ।
सो बसपार्क स्तरोन्नती कार्यका लागि राजेन्द्र–रुद्रावती जेभीसंग एक करोड ३४ लाख ९२ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनीका संचालक किशोरकुमार ठकुराठीले समितिले बस हटाउन नमान्दा सम्झौता भएको सात महिनापछि मात्र काम शुरु गरिएको बताए । बसपार्क खाली गराइदिन सहरी विकास तथा भवन डिभिजन कार्यालयलाई पटकपटक आग्रह गरेको बताए ।
बसपार्क स्तरोन्नतिको काम भइरहेकाले अहिले सडक किनारमा बसहरू रोक्ने गरिएको सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष पदमराज सापकोटाले बताए । समितिमा आवद्ध छ सय सार्वजनिक सवारी साधनमध्ये धनगढीमा दैनिक साढे तीन सय सवारी साधन चल्ने गरेका छन् ।
बसपार्कसंगै जोडिएको कर्णाली रिभर यातायात समिति नजिकको जग्गा भाडामा लिएर सुदूरपश्चिम यातायातले काउण्टर संचालन गरिरहेको छ । करिब ५० गाडी अटाउने भाडाको जग्गा पार्किङका लागि पर्याप्त नभएकाले तत्काल प्रस्थान गर्ने गाडीलाई मात्र पार्किङ गर्ने गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार