वरिष्ठ कृषि अधिकृत यादव घुससहित पक्राउ
धनगढी । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन परियोजना, कैलालीका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत रामनन्दन यादवलाई घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।
कैलारी गाउँपालिका वडा नम्वर ८ मा रहेको कार्यालयमा सेवाग्राहीवाट घुस वापत लिएको २५ हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको बताइएको छ ।
गहुँवालीको चक्रको वृत्तचित्र निर्माण गर्ने सम्झौता अन्तर्गत भ्याट सहित ५० हजार रुपैयाँको काममा ५० प्रतिशत अर्थात् २५ हजार रुपैयाँ घुस लिने क्रममा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरको टोलीले पक्राउ गरेको जनाइएको छ ।
वृत्तचित्र निर्माणका लागि काम पाएका पत्रकार सुशील ढुंगानाबाट रकम लिने क्रममा अख्तियारको टोलीले उनलाई पक्राउ गरेका बताइएको छ । पक्राउ परेका बरिष्ठ कृषि विकास अधिकृत यादवलाई थप कारवाहीका लागि आज (बिहीबार) काठमाडौं पठाइने जनाइएको छ ।