३ जेष्ठ २०८१, बिहीबार

जोशीपुरमा व्यापक आर्थिक अनियमितता



टीकापुर । जोशीपुर गाउँपालिकामा आर्थिक अनियमितता भएको व्यापक गुनासो आएपछि स्थानीयले नागरिक समाज गठन गरेर अनियमितता रोक्न दवाव दिएका छन् ।
नागरिक समाज जोशीपुरले गाउँपालिकामा हुने अनियमितता र मनपरी रोक्न २४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
समाजका संयोजक चन्द्रप्रकाश चौधरीले जोशीपुर गाउँपालिकामा भइरहेको अनियमितता रोक्न र गाउँपालिकाको विकासका लागि गम्भीर बन्न चेतावनी सहितको ज्ञापनपत्र बुझाएको बताए । उनले शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतका क्षेत्रको विकासमा नलागी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि आर्थिक अनियमिततामा भुलेको आरोप लगाए ।
उनले भने– स्थानीय स्तरमा योजना छनौटदेखि नै मनोमानी छ । योजना पुरा भइसकेपछि उपभोक्ता समितिसँग घुस लिने गरेको गुनासो आउन थाल्यो । त्यसैले हामीले पहिलो चरणमा सचेत गराएका छौं, सुधार नभए आन्दोलन गर्छौ ।
जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको मनपरी गरेको जनताले गुनासो गर्न थालेको उनले बताए । उनले गाउँपालिकाको रकम दोहन गर्न नमिल्ने बताउँदै यातायातका नाममा महिनामै लाखौं रकम खर्च भएको बताए ।
उनले जोशीपुर गाउँपालिकामा कर्मचारीले जनप्रतिनिधि चलाएको अवस्था रहेको दावी गरे । भने– प्रमुख प्रशासकीय अधिकृतले सबै क्षेत्रमा रकम हिनामिना गरेका छन् । आर्थिक वर्षको अन्त्यमा रकम बाँडाफाँड भएको छ ।
स्थानीयका अनुसार गाउँपालिकाले गत आर्थिक वर्षको आयव्यय विवरण समेत सार्वजनिक गरेको छैन । सूचनाको हकबाट नागरिक वञ्चित भएका छन् । गाउँपालिकामा गत वर्ष पनि सार्वजनिक सुनुवाई भएन ।
जनताको गुनासो थेग्न नसक्ने भएपछि प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्ट र जनप्रतिनिधिको मिलोमतोमा सार्वजनिक सुनुवाई नगरेको स्थानीयको दावी छ । स्रोतका अनुसार गाउँपालिकामा खरिद प्रक्रियामा व्यापक आर्थिक अनियमितता भएको छ । गाउँपालिकाका एक कर्मचारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत बिष्टले मासिक ७० हजार रुपैयाँ भ्रमण बिल पास गरेर रकम खाने गरेका छन् ।
यसैगरी महिलाको शीर्षकमा रहेको १६ लाख रुपैयाँ कागजी प्रक्रिया पूरा गर्न स्थानीय महिलालाई दुई सय रुपैयाँ भत्ता दिएर कार्यक्रम गरिएको दावी गरिएको छ ।
त्यस्तै, इन्धन र सवारी साधनमा व्यापक दुरुपयोग हुने गरेको छ । घर भाडामा रकम लिइएको छ । कार्यक्रम नगरी बजेट मिलाएर खाएको कर्मचारीले बताउन थालेका छन् । प्रमुख प्रशासकीय अधिकृत बिष्टले टाठाबाठा र पत्रकारलाई चुप लगाउन रकम खर्च गर्ने र आफूभन्दा तल्ला कर्मचारीलाई दुव्र्यबहार गर्ने गरेको गुनोसो छ । बिष्ट यसअघि आधा दर्जन स्थानीय निकायमा अधिकृत भएर काम गर्दा हरेक ठाउँबाट लखेटिएको बताइन्छ । उनले खरिद प्रकृया गर्दा सूचना प्रकाशित गर्नुपर्ने भए पनि सूचना प्रकाशित पत्रिका बजारमा नपठाएर गुपचुपमा मिलाएर खरिद गर्ने गरेको कर्मचारीको भनाई छ ।
नागरिक समाजका सचिव हरि गौतमले गाउँपालिकामा योजना छनौट गर्दा ध्यान नदिएको गुनासो गरे । उनले भने– गाउँपालिकाका अध्यक्षले दुई दिनभित्र जवाफ दिने भनेका छन् । जनताको साथ लिएर दवाव दिन्छौं । गाउँपालिकाका हरेक कार्यको समीक्षा र छलफल हुनुपर्छ ।
त्यस्तै, गाउँपालिकामा भएको भ्रष्टाचारको छानविनको माग गर्दै एउटा समूह अख्तियार गुहार्ने तयारीमा लागेको बताइन्छ । सो समूह कामै नगरी कागजात मिलाएर लाखौं रकम प्रमुख प्रशासकीय अधिकृत बिष्ट र जनप्रतिनिधिले हिनामिना गरेको तथ्य कर्मचारीबाट चुहावट भएपछि अख्तियार जान थालेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार