२ जेष्ठ २०८१, बुधबार

संघीय सांसद र प्रदेशमन्त्रीबीच मर्यादाक्रममा विवाद



धनगढी । संघीय सांसद र प्रदेश सरकारका मन्त्रीबीच मर्यादाक्रमका कारण मनमुटाव देखिन थालेको छ ।
शनिबार धनगढी विमानस्थलमा भएको एक कार्यक्रममा संघीय सांसद र प्रदेशका मन्त्रीहरूबीच मर्यादाक्रमका विषयमा शुरु भएको विवाद झन् चर्किएको छ ।
धनगढी विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको एउटा कार्यक्रममा संघीय संसद सदस्य नारदमुनि रानाले मर्यादाक्रममा आफूलाई अपमानित गरिएको भन्दै आक्रोश पोखेपछि विवाद सार्वजनिक भएको थियो । कार्यक्रममा आसनग्रहणका क्रममा मर्यादाक्रममा संघीय सांसदभन्दा पछाडि राखिएका प्रदेश सरकारका मन्त्रीहरू बिशिष्ट अतिथिका रूपमा मञ्चमा बसेको र आफू सर्वसाधारण बस्ने कुर्सीमा बस्नु परेको भन्दै मन्तव्य राख्ने क्रममा सांसद रानाले आफ्नै क्षेत्रमा बोलाएर आफूलाई अपमानित गरिएको भन्दै कडा आपत्ति व्यक्त गरे ।
कार्यक्रममा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी, प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट मञ्चमा बसेका थिए ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा अध्यक्षता मन्त्री भट्टले गरेका थिए । मन्तव्यका क्रममा संघीय सांसद रानापछि मन्त्री सोडारी बोलेका थिए ।
कार्यक्रममा मर्यादाक्रम अनुसार आफूलाई विशिष्ट अतिथि बनाउनुपर्नेमा आफूलाई मञ्च बाहिर प्रदेश सभा सदस्यसँगै राखिएपछि उनले आक्रोस व्यक्त गरे । ‘मन्त्रालयको ब्यानर राखेर विदेशीको डलरमा कार्यक्रम गर्ने ? अनि जननिर्वाचित प्रतिनिधिलाई आफ्नै क्षेत्रमा बोलाएर अपमानित गर्ने ?’ उनको आक्रोस पोखे ।
मर्यादाक्रमको विवाद बढ्दै गएपछि संघीय सांसद उपस्थित कार्यक्रममा प्रदेश सरकारका मन्त्री सहभागी हुन चाहन्नन् । कैलालीको चिसापानीमा गत बैशाखमा आयोजित कैलाली भ्रमण बर्षको कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अथिति थिए । तर कार्यक्रममा प्रदेश सरकारका अधिकांश मन्त्री सहभागी भएनन् । तत्कालीन एमालेको जिल्ला अध्यक्ष भएकोले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी कार्यक्रममा गए, तर उनले मन्त्रीका रूपमा आसनग्रहण गर्न तथा भाषण गर्न मानेनन् । जिल्ला समन्वय समितिले आमन्त्रण गरे पनि विभागीय मन्त्री रहेकी माया भट्ट संघीय सांसदसँग मर्यादाक्रमको असन्तुष्टीले कार्यक्रममा अनुपस्थिति रहेकी थिइन् ।
प्रदेश प्रमुख मोहनराज मल्ल पनि मर्यादाक्रममा समस्या हुने भन्ने खबर पाएपछि कार्यक्रमस्थल चिसापानी नपुगेरै बीच बाटोबाटै फर्किएका थिए ।
झण्डा नपाएका संघीय सांसद मर्यादाक्रममा आफूभन्दा माथि राखिएको भन्दै औपचारिक कार्यक्रममा प्रदेशका मन्त्रीले अपमान महसुस गरेको बताउँछन् । प्रदेश सभाका एक सदस्यले भने– हामीलाई पनि कर्मचारी तल राखेर सरकारले जनप्रतिनिधिको अपमान गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पनि मर्यादाक्रम सच्याउनका लागि पटकपटक आवाज उठाएको र प्रदेश सभामा पनि कुरा उठेको बताए । प्रदेश सरकारका मन्त्री र प्रदेश सभा सदस्यको मर्यादाक्रम सच्याउन संसदले संकल्प प्रस्ताव नै पारित गरिसकेको छ ।
गत माघ २६ गते राजपत्रमा प्रकाशित मर्यादाक्रममा संघीय सांसदको मर्यादाक्रम ८ नम्बरमा र प्रदेश सरकारका मन्त्रीको १० औं नम्बरमा छ । त्यस्तै, प्रदेश सांसदलाई सरकारका सचिव, सर्वोच्च अदालतका रजिष्ट्रार, प्रदेश सरकारका प्रमुख सचिव, विशिष्ट श्रेणीका अधिकृतभन्दा मुनि १४ औं स्थानमा राखिएको छ ।
नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, उच्च अदालतका मुख्य न्यायाधिश, संवैधानिक आयोगका सदस्य तथा आयुक्तलगायतलाई ९ औं तथा प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय योजना आयोगका सदस्यको मर्यादाक्रम १० औं स्थान छ ।
त्यस्तै, सरकार सचिव, सर्वोच्च अदालतका रजिष्ट्रार, प्रदेश सरकारका प्रमुख सचिव, विशिष्ट श्रेणीका अधिकृत ११ औं स्थानमा, प्रहरी महानिरिक्षक, सशस्त्रका प्रहरी महानिरिक्षक, नेपाली सेनाका रथी, मुख्य अनुसन्धान निर्देशक लगायतलाई १२ औं र प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका समिति सभापतिलगायतलाई १३ औं स्थानमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार