२ जेष्ठ २०८१, बुधबार

युवा समितिद्वारा कार्यप्रगति सार्वजनिक



धनगढी । जिल्ला युवा समितिको कार्यालय कैलालीले आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका कार्यक्रमबारे जानकारी दिएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा युवा संसद स्थापना र अभ्यासदेखि युवा प्रतिभा पहिचान सम्मका कार्यक्रम गरेको जनाइएको छ ।
परिषदले कैलालीको गोदावरी नगरपालिकाका १२ वटै वडामा १५ सदस्यीय वडा क्लब गठन गरी नगर युवा संसद स्थापना र अभ्यास गरेको, अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको, ग्रामीण युवा उद्यम कार्यक्रम, युवा परामर्श सेवा कार्यक्रम, युवा प्रतिभा तथा उद्यमी सम्मान, सीप विकास तालिम लिएका युवाहरू वस्तुगत सहायता हस्तान्तरण लगायतका क्रियाकलाप गरिएको जिल्ला युवा समितिको कार्यालयले जनाएको छ ।
युवा समितिको कार्यालय कैलालीमा २०७३ असोजमा स्थापना भएको थियो । कार्यालय स्थापना भएको लामो समय नभएपनि युवाका क्षेत्रमा समितिले थुप्रै काम गरेको समितिका अध्यक्ष शम्भु कुँवरले जानकारी दिए ।
देशमा कुल जनसंख्याको ४० दशमलब तीन प्रतिशत युवा भएपनि कैलालीमा झण्डै ४४ प्रतिशत युवा रहेको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लामा युवाको समस्याको समाधान गर्न नसकिएको भएपनि केही हदसम्म युवाहरूलाई समेट्ने प्रयास गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार