२ जेष्ठ २०८१, बुधबार

कृषक दिवस तथा सम्मान कार्यक्रम



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका कृषि शाखाको अयोजनामा बिहीबार लम्कीमा कृषक दिवस तथा कृषकहरूलाई सम्मान कार्यक्रम भएको छ ।
कार्यक्रमको नगर प्रमुख महादेव बजगाईले उद्घाटन गरेका थिए । कार्यक्रम लम्कीचुहा नगरपालिकाका आर्थिक विकास समिति संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष पूर्णबहादुर विष्टको अध्यक्षतामा शुरु भएको थियो ।
सो अवसरमा नगर प्रमुख बजगाईले कृषियोग्य जमिन निरन्तर खण्डिकरण भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले नगरपालिकाले एक गाउँ–एक खेती, एक वडा–एक कृषक कार्यक्रम ल्याएको बताए ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका भित्रका कृषकहरूलाई विभिन्न विधामा सम्मान गरियो ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १०, चुहाका चुन्नुराम कठरियालाई केराखेतीमा, वडा नम्बर १ लम्कीका छोटेलाल थापालाई मत्स्यपालन तथा वडा नम्बर, ९ प्रतापपुरमा रहेको मालिका मौरीपालन कृषक समूहलाई मौरीपालनतर्फ सम्मान गरिएको थियो ।
त्यस्तै, फलफुल खेती तर्फ वडा नम्बर ६ गुलराका भीमबहादुर केसी, तरकारी खेतीमा वडा नम्बर १ लम्कीका कञ्चन शाही, मत्स्यपालनमा वडा नम्बर ९ का खडक चौधरी, तरकारी खेतीमा वडा नम्बर १० चुहाका पार्वती चौधरी र कृषि सहकारीतर्फ सना कृषक सहकारी संस्थालाई सम्मान गरियो ।
कार्यक्रममा कृषि शाखा प्रमुख कोमल शाहीले लम्कीचुहा नगरपालिकाको कषि शाखाले आर्थिक वर्ष २०७४/७५ मा नगरपालिका भित्र सञ्चालन गरेका कृषि कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सो अवसरमा वडा नम्बर ४ का अध्यक्ष लालबहादुर बोगटी, वडा नम्बर ५ का अध्यक्ष माया विष्ट, वडा नम्बर ७ का अध्यक्ष हरिराम चौधरी, वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद चौधरी र वडा नम्बर १० का वडा अध्यक्ष हर्क कठरिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
लम्कीचुहा नगरपालिका नगर प्रमुखका सचिवालय प्रमुख विष्णु खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन लम्कीचुहा नगरपालिका कृषि शाखाका प्राविधिक नम्रता अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार