स्थानीय तहहरू अपांगताका सवालमा गम्भीर नभएको गुनासो
धनगढी । अपांगता भएका व्यक्तिहरूले स्थानीय तहहरू अपांगताका सवालमा गम्भीर र संवेदनशील नभएको गुनासो गरेका छन् ।
अपांगता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धती केन्द्रको आयोजनामा बिहीबार धनगढीमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीरूले स्थानीय जनप्रतिनिधिहरूलाई अपांगता भएका व्यक्तिका अधिकारका बारे गम्भीर हुन आग्रह गरे ।
सो अवसरमा संस्थाका प्राविधिक संयोजक नन्दराज भट्टले संविधान र अपांगता अधिकार ऐन अपांगता भएका व्यक्तिहरूको पक्षमा भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको चर्चा गरे । उनले ऐनले व्यवस्था गरेका अधिकारहरू स्थानीय तहहरूले व्यवहारिक रूपमा लागू गर्न नसकेका कारण नै अपांगता भएका व्यक्तिहरूले समस्या भोग्नु परिरहेको गुनासो गरे ।
अपांग महासंघ प्रदेश ७ का अध्यक्ष भीमबहादुर शाहले अपांगमैत्री वातावरण निर्माण गर्न स्थानीय तहहरूले जोड नदिएको गुनासो गरे । उनले १० प्रकारका अपांगता भएका व्यक्तिहरू रहे पनि स्थानीय तह तथा विद्यालयहरूले शारीरिक र दृष्टिबिहिनलाई मात्र अपांगताका रूपमा लिइरहेको बताए ।
उनले अपांगता भएका व्यक्तिहरू अझै विभिन्न कारणबाट शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताए ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख सन्ध्या सिंह, अपांगता भएका व्यक्तिहरूका क्षेत्रमा काम गर्ने संघ/संस्थाका पदाधिकारी, सदस्य, अपांगता भएका व्यक्ति, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।