छुटेकालाई साउनभित्र विद्यालयमा पुर्याऊ
धनगढी । शिक्षा मन्त्रालयले देशभरीका स्थानीय तहलाई विद्यालय भर्ना हुनबाट छुटेका विद्यार्थीहरूलाई आगामी साउन महिनाभित्र विद्यालयमा पुर्याउन निर्देशन दिएको छ ।
बैशाख २ गतेदेखि शुरु भएको विद्यार्थी भर्ना अभियानको पहिलो चरणमा विद्यालय भर्ना हुन नसकेका बालबालिकाहरूको पहिचान गरी दोस्रो चरण अन्तर्गत साउन महिनाभित्र नजिकको विद्यालयमा पाठ्यपुस्तक सहित भर्ना गराउन निर्देशन आएको जिल्ला शिक्षा इकाई तथा समन्वय समिति, कैलालीले जनाएको छ ।
कैलालीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद भट्टका अनुसार नेपाल सरकारले गत जेठ २० गते विद्यार्थी भर्ना विशेष अभियान, २०७५ दोस्रो चरणको कार्ययोजना स्वीकृत गरी कार्यक्रम कार्यान्वयनको सहजीकरणका लागि शिक्षा विभागबाट जेठ ३१ मा सबै इकाईहरूलाई पत्राचार गरेको थियो ।
शिक्षा इकाईलाई प्राप्त कार्ययोजनामा स्थानीय तहहरूले घरधुरी सर्वेक्षण फाराम, २०७५ भरी विद्यालय बाहिरका बालवालिकाहरूको अभिलेख अध्यावधिक गरी सार्वजनिकीकरण गर्ने, सम्बन्धित स्थानीय तहको आयोजनामा सरोकारवालाहरू सहितको बैठका स्वीकृत कार्ययोजना र सोसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनको विषयमा जानकारी गराउने र स्थानीय तहहरूले घरधुरी सर्वेक्षण फाराम–२०७५ भरी विद्यालय बाहिरका बालबालिकाहरूको अभिलेख अध्यावधिक गरी सार्वजनिकीकरण गर्ने उल्लेख छ ।
त्यस्तै, कार्ययोजनामा संकलित विवरण बमोजिम २०७५ साउन मसान्तभित्र नजिकको विद्यालयमा पाठ्यपुस्तक सहित भर्ना गर्ने प्रबन्ध मिलाउने, अपांगता भएका बालबालिकाहरूलाई नजिकको स्रोत कक्षाहरूमा भर्ना गर्ने व्यवस्था मिलाउने र स्थानीय तहहरूले आफ्नो सेवा क्षेत्र भित्रका आधारभूत तह (५–१२ वर्ष) का सबै बालबालिका विद्यालयमा भर्ना भएको सुनिश्चितता गर्न संकलित तथ्यांकको आधारमा सम्बन्धित विद्यालयबाट प्रमाणीकरण पश्चात सम्बन्धित स्थानीय तहको कार्यपालिकाबाट निर्णय गराई अनिवार्य आधारभूत शिक्षा सुनिश्चतता भएको घोषणा गर्ने उल्लेख छ ।
त्यस्तै, सो घोषणाको लिखित जानकारी जिल्ला समन्वय समितिमा प्राप्त भए पछि समितिको वैठकबाट सरकोकारवालाहरूको उपस्थितिमा जिल्लालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको घोषणा गर्ने उल्लेख छ ।
सम्बन्धित समाचार