३ आश्विन २०८१, बिहीबार

कैलालीमा अझैं तीन प्रतिशत जनसंख्या निरक्षर



धनगढी । कैलाली जिल्लामा अझैं तनि प्रतिशत जनसंख्या निरक्षर रहेको तथ्यांकले देखाएको छ । जिल्ला शिक्षा ईकाइ तथा समन्वय समितिका अनुसार जिल्लाको कुल जनसंख्यामध्ये अझैं २१ हजार सात सय २० जना निरक्षर रहेका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार कैलालीमा सात लाख ७५ हजार सात सय नौ हजार जनसंख्या रहेको छ । जिल्ला शिक्षा ईकाई तथा समन्वय समितिका अनुसार कैलालीमा हाल साक्षर जनसंख्या ९७ दशमलव दुई प्रतिशत रहेको छ ।
त्यस्तै, लक्षित समूह (१५ देखि ६० वर्ष) को जनसंख्यामध्ये भने करिब पाँच प्रतिशत जनसंख्या निरक्षर रहेको देखिएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार कैलालीमा लक्षित समूह (१५ देखि ६० वर्ष) चार लाख २४ हजार जनसंख्या रहेकोमा एक लाख ५९ हजार दुई सय एक जनसंख्या निरक्षर रहेको छ । २०६७ सालमा गरिएको घरधुरी सर्वेक्षणबाट कैलालीमा एक लाख ५५ हजार पाँच सय ७० जना निरक्षर रहेको पहिचान गरिएको थियो ।
जिल्ला शिक्षा ईकाई तथा समन्वय समिति कैलालीका अनुसार जिल्लामा हालसम्म लक्षित समुह (१५–६० वर्ष) का ९५ प्रतिशत साक्षर भइसकेको छ ।
साक्षर नेपाल अभियान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७०/०७१ सम्म एक लाख ६० हजार सात सय ३२ जना साक्षर भएका थिए । कैलालीमा आर्थिक वर्ष २०७१/०७२ मा ८४ हजार तीन सय ४९ जना निरक्षर पहिचान भएका थिए ।
जिल्लामा निरन्तर शिक्षा मार्फत आर्थिक वर्ष २०७४/०७५ सम्म ७२ हजार ३४ जना साक्षर भएको जनाइएको छ ।
जिल्ला शिक्षा इकाई समितिले बाँकी निरक्षरलाई आगामी आर्थिक वर्षभित्र साक्षर जिल्ला घोषणा गराउने तयारी सहित स्थानीय तहलाई काम गर्न आग्रह गरेको छ ।
जिल्ला शिक्षा इकाईले अहिलेकै साक्षरता दरमा जिल्लालाई आगामी भदौ २३ गते साक्षरता दिवसका दिन पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको थियो, तर अधिकांस स्थानीय तहले असहमति जनाएपछि आगामी वर्ष जिल्लालाई साक्षर घोषणा गर्ने तयारी अघि बढाइएको छ ।
मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले अझै पनि आफ्नो गाउँपालिकामा २५ प्रतिशतभन्दा बढी जनसंख्या निरक्षर रहेको बताए ।
त्यस्तै, चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरले जिल्लाका पहाडी क्षेत्रमा साक्षर घोषणाका लागि विशेष अभियान सञ्चालन गर्न जरुरी रहेको बताए ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले भने– “बरु ढिला घोषणा गरौं, तर राम्रोसँग गरौं ।” उनले टोलबाटै साक्षर घोषणा अभियान सञ्चालन गरेमा बढी प्रभावकारी हुने बताए ।
कैलालीका जिल्ला शिक्षा अधिकारी विष्णुदत्त भट्टले नेपाल सरकारले दुई वर्षभित्र राष्ट्रलाई साक्षर बनाउने लक्ष्य लिएको बताए । उनका अनुसार कैलालीमा एक उपमहानगरपालिका, छ नगर तथा छ वटा गाउँपालिका रहेकोमा हालसम्म कुनै पनि स्थानीय तह पूर्ण साक्षर घोषणा हुन सकेका छैनन् । जिल्लामा साविकको अत्तरिया नगरपालिका भने साक्षर घोषणा भइसकेको छ ।
जिल्ला शिक्षा अधिकारी भट्टका अनुसार कैलालीलाई साक्षर घोषणा गर्न वर्ण र अक्षर लेखपढ, मूल्यसूची र विल पढ्न सक्ने, परिवारका सदस्यहरूको परिचय विवरण लेखपढ, मोवाईल र क्यालकुलेटरको प्रयोग, सून्यदेखि नौ सम्मका अंक र अक्षर लेखन, सून्यदेखि एक सयसम्मका अंक गणना, लेनदेनका हरहिसाब राख्ने, चित्र, पोष्टर, साईनबोर्ड र ट्राफिक संकेत वुझ्न सक्ने, सामाजिक कार्यमा सहभागी हुन, घडी हेरेर समय बताउन, भित्ते पात्रो हेरेर मिति, तिथि बताउन तथा बैंक भौचर हेरि चेक काटन सकेमा नागरिकलाई साक्षर भएको मानिने सूचक रहेका छन् ।

प्रदेशमा आठ जिल्ला साक्षर घोषणा हुन बाँकी
प्रदेश नम्बर ७ मा आठ वटा जिल्ला अझै साक्षर घोषणा हुन बाँकी रहेका छन् । अहिलेसम्म सात नम्बरको दार्चुला मात्रै साक्षर जिल्ला घोषणा भएको छ । भने बैतडी जिल्ला साक्षर घोषणाको तयारीमा रहेको छ ।
शिक्षा मन्त्रालयका अनुसार २०७५ बैशाख २६ सम्म देशभरी ४५ जिल्ला साक्षर घोषणा भइसकेका छन् ।

सम्बन्धित समाचार

छुटेकालाई साउनभित्र विद्यालयमा पुर्‍याऊ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार