१२ श्रावण २०८१, शनिबार

सामुहिक बलात्कार र हत्या घटना : अपराधीलाई कडा कारवाही गर– पीडित परिवार



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ मा केही दिनअघि सामुहिक बलात्कारपछि हत्या गरिएकी माया विकका परिवारजन तथा आफन्तले घटनामा संलग्न दोषिलाई कडा कानुनी कारवाहीको माग दोहोर्‍याएका छन् ।
बिहीबार धनगढीमा पत्रकारहरूमाझ मृतक मायाकी आमा देउसरा विकले माग गरिन्– “कुनै पनि बहानामा अपराधीहरू कारवाहीबाट जोगिन पाउन हुँदैन ।”
देउसराले आफ्नी एक्ली छोरीलाई सामुहिक बलात्कार गरेर निर्मम ढंगले हत्या गर्ने अपराधीहरूलाई फाँसीको सजाय दिन माग गरिन् ।
१० घरपरिवार रहेको कटान वस्तीमा अधिकांस परिवार विपन्न छन् । देउसराका अनुसार माया सो वस्तीबाट एसएलसी उत्तीर्ण गर्ने पहिलो छात्रा हुन् । उनले मायाको नृशंस हत्यापछि पुरै गाउँ शोकमा डुबेको बताइन् ।
मृतक मायाका बुबा दीर्घरोगी हुन् । उनका दाइ र भाइ घरको आर्थिक अभावले पढ्न नसकेर भारतमा काम गर्न गएका छन् । भने आमा देउसरा रोजगारीका लागि कुवेत गएकी थिइन् ।
पत्रकार सम्मेलनमा सहभागी प्रदेश ७ का प्रदेश सभा सदस्यहरूले पनि माया विकको सामुहिक बलात्कार र पाशविक हत्यामा संलग्न दोषिहरूलाई कडा भन्दा कडा सजाय दिलाउन माग गरे ।
नेपाली काँग्रेसका प्रदेश सांसद टेकबहादुर रैकाले घटनामा संलग्न दोषिहरूलाई सर्वस्व सहित जन्मकैदका लागि प्रदेश सरकारलाई दवाव दिने बताए ।
नेपाल कम्युनिस्ट पार्टीकी प्रदेश सांसद दुर्गा जिकले महिलामाथि हुने यस्ता हिंसाले महिलाहरूलाई बाहिर काम गर्न नै असहज भएको बताइन् । महिलाहरूले कहिले बोक्सीको आरोप, कहिले बलात्कारको सिकार हुन परिरहेकोले यस्ता जघन्य अपराधमा फासीको सजायको व्यवस्था गर्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार