११ श्रावण २०८१, शुक्रबार

विविध कार्यक्रमसहित जनसंख्या दिवस मनाइयो



धनगढी । कैलाली सहित देशभरी बुधबार विभिन्न कार्यक्रम सहित विश्व जनसंख्या दिवस मनाइएको छ ।
‘परिवार नियोजन मानवअधिकार हो’ भन्ने नाराका साथ बुधबार धनगढी उपमहानगरपालिका र नेपाल परिवार नियोजन संघको संयुक्त आयोजनामा अन्तरक्रिया भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले अव्यवस्थित बस्तीका कारण भौतिक निर्माणसहित विकास गर्न कठिनाई हुने गरेको चर्चा गरे ।
नगर प्रमुख वडले भने– “छरिएर रहेका बस्तीका कारण एकदुई वटा मात्रै घर भएका ठाउँमा पनि बाटोघाटो पुर्‍याउनुपर्ने, विद्युत सेवा उपलब्ध गराउनुपर्ने लगायतका सेवा पुर्‍याउनुपर्ने हुन्छ । तर, यसमा लगानी बढि हुने, उपलब्धी कम हुने अवस्था छ, त्यसैले सबैभन्दा पहिले बस्ती व्यवस्थापन आवश्यक छ ।
कार्यक्रम नेपाल परिवार नियोजन संघ, कैलालीका उपसभापति सुरेन्द्र बमको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन शाखा सुपरभाईजर सूर्यबहादुर बिष्ट, युएनएफपिएका प्रतिनिधि मदन बागचन र परिवार नियोजन शाखा कार्यालयका प्रमुख बासुदेव बिष्टले परिवार नियोजनको महत्त्व, वर्तमान अवस्था तथा सरकारका कार्ययोजना लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
शाखाका सचिव लोकराज जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन धनगढी उपमहानगरपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बमले गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार