वनबासा पुलमा सवारी आवतजावत रोक
धनगढी । महाकाली नदीमा पानीको सतह सतर्कतातर्फ पुग्न लागेपछि कञ्चनपुरको वनबासा पुलमा सवारी आवतजावतमा रोक लगाइएको छ ।
पहाडी क्षेत्रमा मंगलबार बिहानबाट परेको अत्याधिक वर्षाका कारणले महाकाली नदीमा दिउँसो पानीको सतह बढ्दै गएको थियो । जसका कारण नेपाल र भारतलाई जोड्ने वनबसा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको जनाइएको छ ।
बुधबार दिनभरी महाकाली नदीमा पानीको बहाव बढ्दै गए पनि साँझदेखि भने घट्दै गएको थियो । ईलाका प्रहरी कार्यालय, गड्डाचौकीका प्रहरी नायव निरीक्षक डिकरदेव पन्तका अनुसार साँझ ४ बजे पानीको सतह मापन गर्दा दुई लाख १५ हजार एक सय १८ क्युसेक पुगेको थियो । पहाडी क्षेत्रमा वर्षा भइरहेकोले महाकाली नदीमा पानीको सतह बढ्ने धेरै सम्भावना रहेको उनले बताए ।
नदीमा पानीको बहाव बढेका कारण दिउँसोबाट चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको थियो ।