आज विश्व जनसंख्या दिवस
धनगढी । कैलालीसहित देशभरी आज (बुधबार) विश्व जनसंख्या दिवस मनाइन लागेको छ । ‘परिवार नियोजन नै मानवअधिकार हो’ भन्ने मुल नाराका साथ आज (बुधबार) कैलालीसहित देशभरी विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
नेपाल परिवार नियोजन संघ र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा धनगढीमा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका बरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले बताए ।
विश्व जनसंख्या दिवस ११ जुलाईको दिन विश्वभरि मनाइने वार्षिक क्रार्यक्रम हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धी समस्या उठाई त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने काम गरिन्छ ।
संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलद्वारा सन् १९८९ देखि ११ जुलाईलाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो । ११ जुलाई १९८७ मा विश्व जनसंख्या पाँच अर्ब पुगेको मितिलाई आधार मानेर विश्व जनसंख्या दिवस तय भएको हो ।
सन् १९८० देखि १९९० सम्ममा परिवार नियोजन महिलाका अधिकारका रूपमा लिइएको थियो भने सन् २००० देखि अहिलेसम्म महिला, बच्चाको स्वास्थ्यमा सुधार, महिला सशक्तिकरण, गुणस्तरीय जीवनयापनका रूपमा यो दिवस मनाइदै आएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार कैलाली जिल्लामा तीन लाख ९७ हजार दुई सय ९२ महिला र तीन लाख ७८ हजार चार सय १७ पुरुष गरि सात लाख ७५ हजार सात सय नौ जनसंख्या रहेको छ । जिल्लाको जनसंख्या बृद्धिदर दुई दशमलब २९ प्रतिशतका आधारमा जिल्लामा यस वर्षमा नौ लाख एक हजार एक सय ७७ जनसंख्या पुगेको अनुमान गरिएको छ ।