महासंघद्वारा छात्रवृत्ति घोषणा
धनगढी । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएको कम्प्युटर एसोसिएसन महासंघले पहिलो पटक छात्रवृत्ति घोषणा गरेको छ । महासंघले यस वर्ष ७ वटै प्रदेशका ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ ।
कम्प्युटर एसोसिएसन महासंघ, प्रदेश ७ ले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेहेन्दार विद्यार्थीलाई लक्षित गरी घोषणा गरिएको छात्रवृत्तिबारे जानकारी दिइयो ।
लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहकार्यमा नेशनल आईसिटी : स्कलरसीप २०७५ अन्तर्गत प्रत्येक प्रदेशबाट सात÷सात गरी ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सो अवसरमा जानकारी दिइयो । “प्रत्येक प्रदेशबाट एक जना छात्रालाई पूर्ण र छ जनालाई आंशिक रूपमा छात्रवृत्ति प्रदान गरिने छ” महासंघ सात नम्बर प्रदेश अध्यक्ष कर्णराज पनेरूले बताए ।
महासंघले सात वटै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी सरस्वती छात्रवृत्तिमा प्रत्येक प्रदेशबाट एक/एक जना, समृद्धि छात्रवृत्तिमा एक÷एक जना, संस्कृति छात्रवृत्तिमा प्रत्येक प्रदेशबाट दुई/दुई जना, शक्ति छात्रवृत्तिमा एक/एक र साथी छात्रवृत्तिमा एक/एक जनालाई छात्रवृत्ति प्रदान गरिने कम्प्युटर एसोसिएसन महासंघले जनाएको छ । ४९ जना विद्यार्थीलाई एक करोड ८३ लाख रुपैयाँ बढिको छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए ।
सबै जिल्ला स्तरमा छनोट समितिबाट सिफारिस भएका विद्यार्थीहरूलाई प्रदेशमा पठाउने र त्यहा पनि उत्कृष्ट भएका विद्यार्थीलाई प्रदेशले संघमार्फत छनोट गर्ने बताइएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले विद्यार्थी छनोट प्रक्रिया पारदर्शी हुने र मुख्यगरी गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरेर यो कार्यक्रम घोषणा गरिएको बताए ।
वरिष्ठ उपाध्यक्ष कुँवरका अनुसार छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको आवद्धतामा सञ्चालित लर्ड बुद्ध एकजुकेशन फाउण्डेशनमा स्नातक तह अन्तर्गत बिएससी आइटीको अध्ययन गर्न पाउने छन् ।
छात्रवृत्तिका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अथवा सो सरह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । त्यस्तै, कक्षा दशको गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याई सीटीइभिटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीले पनि आवेदन दिन सक्ने महासंघले जनाएको छ ।
त्यस्तै, कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले समेत आवेदन दिन पाउनेछन् । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले महासंघको जिल्ला शाखा तथा महासंघको वेवसाइट क्यान डट ओआरजी डट एनपिबाट आवेदन दिन सक्ने उनले बताए ।
आवेदन दिन इच्छुक विद्यार्थीले नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, फोटो, कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, कक्षा १२ को प्रवेशपत्र र स्थानीय सरकारको सिफारिस पत्र पेश गर्नुपर्ने छ । क्यानले आफ्नो रजत वर्षको अवसरमा विद्यार्थीका लागि ‘क्यान नेसनल आईसीटी स्कलरसीप–२०७५’ सुरुवात गरेको हो ।
पत्रकार सम्मेलनमा विभिन्न विद्यालयका विद्यार्थी एवम् अभिभावकहरूको शिक्षक पत्रकार समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्यान महासंघ ७ नम्बर प्रदेशका सहसचिव धिरेन्द्र बोगटीले गरेका थिए भने क्यान महासंघ कैलालीका अध्यक्ष वीरेन्द्रप्रसाद भट्टराईले स्वागत गरेका थिए ।