सरकारले जनआकांक्षा अनुरूप काम गर्न सकेन– पुन
धनगढी । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुनले सरकारले जनताका आकांक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएकी छन् । राष्ट्रिय जनमोर्चाले शुक्रबार धनगढीमा आयोजित राष्ट्रिय प्रचार अभियानमा उनले दुई तिहाइको दम्भमा सरकारले मनोमानी गर्न थालेको आरोप समेत लगाइन् ।
अध्यक्ष पुनले संघीयताका कारण देशमा आर्थिक मन्दी उत्पन्न भएको र जनता महंगीको मारमा परेको दावी गरिन् । उनले जनताले संघीयताको बारेमा बल्ल जानकारी पाउन थालेका उनले बताइन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष लछिराम आचार्यले संघीयताका कारण राष्ट्रियता संकटमा परेको दावी गरे । उनले देशको ढुकुटी नै रित्तिन लागेका बेला जनताबाट निर्वाचित तल्लो तहदेखि उच्च तहका जनप्रतिनिधिहरूले आफ्नो सेवासुविधाका लागि मात्रै ध्यान दिइरहेकोमा आपत्ति व्यक्त गरे ।
डोटीका सचिव केशवनाथ ओझाले पनि संघीयता खारेज गरी विकेन्द्रिकृत शासन प्रणाली अवलम्बन गरिनु आवश्यक रहेको बताए ।
कार्यक्रम सञ्चालन जनमोर्चाका कैलाली सचिव हुकुम साउँदले गरेका थिए ।