२ माघ २०८१, बुधबार

प्रदेश सभा बैठक : आर्थिक अनियमितादेखि लोकतन्त्रका मूल्यमान्यतासम्म बहस



धनगढी । प्रदेश सातको प्रदेश सभाको शुक्रबारको बैठकमा विकास निर्माण आयोजनामा भइरहेका आर्थिक अनियमितादेखि लोकतन्त्रका मूल्यमान्यतासम्मका विषयमा गर्मागर्म वहस भएको छ ।
बैठकमा सांसदहरूले संघीय सरकारले मुलुकका विभिन्न भागमा निषेधित क्षेत्र तोकेको सवालदेखि स्थानीय तहमा विकास निर्माण कार्यमा भइरहेका अनियमिताबारे टिप्पणी गरे ।
संसदको सून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद कर्णबहादुर मल्लले सरकारले जनताको विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नकै लागि ‘निषेधित क्षेत्र घोषणा’ गरेको आरोप लगाए । उनले भने– “जनताले विरोध गर्न पाउने अधिकार कुण्ठित गरेर सरकारले लोकतन्त्रलाई नै कमजोर बनाउन खोजिरहेको छ ।”
काँग्रेसका सांसद डिल्लीराज पन्तले सरकाले निषेधित क्षेत्र घोषणा गरेर सरकारको आवाज कुण्ठित गर्ने दुस्प्रयास गरेको आरोप लगाए ।
सून्य समयको छलफलमा भाग लिँदै सत्तापक्षीय सांसद रतनबहादुर थापाले स्थानीय तहमा विकास निर्माण कार्यमा व्यापक अनियमिता भइरहेको चर्चा गरे । उनले भने– “स्थानीय तहमा विकास निर्माण आयोजनाका लागि आवश्यक माटो, ढुंगा ढुवानीमा व्यापक अनियमितता भइरहेको छ ।”
सत्तापक्षै अर्का सांसद माया तामाङ बोहराले वझाङमा जनप्रतिनिधिहरूमाथि भइरहेको भौतिक आक्रमणबारे सरकारको ध्यानाकर्षण गरिन् । उनले विप्लव समूहका कार्यकर्ताहरूबाट जनप्रतिनिधिहरूमाथि भइरहेको आक्रमणको निन्दा गरिन् । उनले कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको भन्दा पनि आफ्ना कार्यकर्ताका लागि काम गरिरहेको आरोप लगाइन् ।
सत्तापक्षीय अर्का सांसद लीलाधर भट्टले लोकतन्त्रको परिभाषा सधैं एकैनासको हुनुपर्ने बताए । संघीय सरकारले मुलुकका विभिन्न स्थानमा गरेको निषेधित क्षेत्र घोषणामा प्रतिपक्षको विरोधप्रति कटाक्ष गर्दै सांसद भट्टले प्रश्न गरे– “निषेधित क्षेत्र तोकिँदा लोकतन्त्र समाप्त भएन, आज तोक्दा कसरी अधिनायकवाद आउँछ ?”
सत्तापक्षका अर्का सांसद हर्कबहादुर कुँवरले “आफू सत्तामा हुँदा झिंगा नमार्ने, अरूले काम गर्न खोज्दा पहाड खसे जस्तो गरेर जनतालाई भ्रममा पार्न खोजेको” टिप्पणी गरे ।
संसदको शुक्रबारको बैठकमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले पेस गरेको मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सामान्य छलफल भएको थियो ।
छलफलमा सांसदहरू डिल्लीराज पन्त, लीलाधर भट्ट र कुन्ती जोशीले भाग लिएका थिए । संसदको अर्को बैठक भोलि (आइतबार) दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार