अपांगता परिचयपत्र वितरणसम्बन्धी शिविर
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा अपांगता परिचयपत्र वितरण तथा अपांगता सहायक सामग्री नापजाँच सम्बन्धि एक दिने घुम्ती शिविर बिहीबार भएको छ ।
सर्वांगीण अपांगता विकास समाज नेपाल, धनगढीको आयोजना तथा बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका कार्यालयको प्राविधिक सहयोगमा सो शिविर भएको जनाइएको छ ।
संस्थाका संयोजक नन्दराज भट्टका अनुसार शिविरमा बर्दगोरिया गाउँपालिका भित्रका अपांगता भएका व्यक्तिहरूको पहिचान गरी परिचयपत्र वितरण गरिएको थियो ।
बर्दगोरिया गाउँपालिकाका ६ वटै वडाबाट अध्यक्षहरूले अपांगता भएका व्यक्तिको पहिचान गरी सिफारीस गरेर पठाएकाहरूलाई परिचयपत्र वितरण गरिएको संयोजक भट्टले जानकारी दिए ।
शिविरमा ८० जनालाई अपांगता परिचयपत्र वितरण गरिएको संयोजक भट्टले जानकारी दिए । तीमध्ये रातो कार्ड चार जना, निलो कार्ड २४ जना, पहेलो कार्ड ४८ जना र सेतो कार्ड चार जनालाई वितरण गरिएको थियो ।
संस्थाले आज (शुक्रबार) सात जना अपांगता भएका व्यक्तिलाई ह्विल चेयर, १० जनालाई बैसाखी, १५ जनालाई सेतो छडी, पाँच जनालाई आराम कुर्सी र दुई जनालाई वाकर वितरण गर्ने कार्यकम रहेको संयोजक भट्टले जानकारी दिए ।
सो अवसरमा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौराथारूले अपांगता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरिएपछि भत्ता तथा अन्य सुविधा पुर्याउन सहज हुने बताए ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधिहरू, महिला तथा बालबालिका कार्यालय सिविआर संयोजक संध्या राजेश्वरी सिंह, बहिरा, अपांगता चेकजाचका प्रमुख मौसम भट्ट तथा अपांगता भएका व्यक्तिहरू लगायतको सहभागिता रहेको थियो ।