१२ माघ २०८१, शनिबार

प्रदेश सभा बैठक : प्राकृतिक विपद्पीडितलाई तत्काल राहत देऊ– सांसदहरू



धनगढी । सात नम्बर प्रदेशका सांसदहरूले केही दिनयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद् तथा अन्य दुर्घटनाका कारण मृत्यु भएका, घाइते तथा प्रभावितहरूलाई तत्काल राहत तथा क्षतिपूर्ति प्रदान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले बाढी तथा पहिरोका कारण ज्यान गुमाएका र तीन दिनअघि डोटीमा पोल सार्ने क्रममा करेन्ट लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
सांसद खड्काले वर्षायाममा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न र उद्दार र राहतमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले स्वास्थ्य सेवा क्षेत्रको सुधारका लागि डाक्टर गोविन्द केसीले उठाएका मागबारे संघीय सरकारले अनुदार भएर व्यवहार गरिरहेकोमा आपत्ति जनाए । उनले संघीय सरकारले देशका विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गरेकोमा विरोध गरे ।
बैठकमा भाग लिँदै सत्तापक्षीय सांसद पूर्णा जोशीले पनि विपद्बाट मृत्यु भएका व्यक्तका परिवार तथा आफन्तहरूका लागि राहतको व्यवस्था गर्नुपर्ने माग गरिन् । उनले डोटीमा केही दिनअघि करेन्ट लागेर चार जनाको मृत्यु हुनुका कारणबारे विभिन्न कुरा आइरहेकाले यसबारे अनुसन्धान गर्न सरकारसँग माग गरिन् ।
सांसद जोशीले प्रदेशसभाबाट स्थानीय तहका कर्मचारीहरूको सेवासुविधाबारे विधेयक बनेको बारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई जानकारी नभएकोप्रति प्रदेश सकरारको कार्यशैलीमाथि प्रश्न गरिन् ।
यसैबीच बिहीबार प्रदेशसभामा मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पेश भएको छ ।
सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले नियम १०६ बमोजिम संक्षिप्त वक्तव्यसहित सो विधेयक प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार