१२ चैत्र २०८१, बुधबार

युवा उद्यमी तथा प्रतिभाको सम्मान



धनगढी । जिल्ला युवा समिति कैलालीले युवाहरूलाई प्रोत्साहित हुने गरेर विभिन्न क्षेत्रमा योगदान गरेकालाई पुरस्कार दिएको छ ।
विहीबार धनगढीमा आयोजित एक कार्यक्रममा युवा समितिले तीन जना युवा उद्यमी, नौ जना नयाँ उद्यमी र चार जना बालबालिकालाई विभिन्न सम्मान तथा पुरस्कार दिएको हो ।
युवा उद्यमी तथा प्रतिभा सम्मान कार्यक्रम अन्तर्गत चक्र बटाला, सुमन शिवाकोटी र भावना जोशीलाई सात/सात हजार रुपैयाँ र सम्मानपत्र दिइएको छ । बटाला र शिवाकोटी कृषिकर्मी र जोशी दैनिक पत्रिका प्रकाशन गर्ने सञ्चार उद्यमी हुन ।
यस्तै सीपमूलक तालिममा संलग्न नौ जना महिलालाई स्वरोजगारमुलक काम गर्न सहयोग हुने उद्देश्यले २०/२० हजार रुपैयाँ दिइएको छ ।
यसैबीच समृद्ध नेपाल सुखी नेपाली अभियान अन्तर्गत भएको वक्तृत्वकला प्रतियोगितामा दर्पण शर्मा, रोजी सिशं, दीपा रावत र रचना शर्मा क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्तवना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने बालबालिकालाई क्रमश : सात हजार, पाँच हजार, तीन हजार र एक हजार रुपैयाँ पुरस्कार दिइएको थियो ।
युवा उद्यमी तथा प्रतिभा सम्मान कार्यक्रम प्रदेश सातका सामाजिक विकासमन्त्री दीर्घ सोडारीको प्रमुख आथित्यतामा भएको थियो । सो अवसरमा समितिका जिल्ला संयोजक शम्भु कुँवरले युवा उद्यमी तथा प्रतिभा सम्मान कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार