बाढी प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याऊ– काँग्रेस
धनगढी । नेपाली काँग्रेस कैलालीले बाढी प्रभावित क्षेत्रमा अति आवश्यक सामग्री यथाशिघ्र पुर्याउन प्रदेश सरकार समक्ष माग गरेको छ ।
काँग्रेस, कैलालीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ‘प्राकृतिक विपतको जोखिमपूर्ण घडीमा प्रभावित नागरिकहरूको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न’ प्रदेश सरकारसँग माग गरेको छ ।
काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह (मनु) द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– “बाढी प्रभावित परिवारलाई तत्काल अति आवश्यक सामग्रीहरू (खाद्यान, लत्ता कपडा, भाँडाकुडा, औषधि, खानेपानी र अस्थायी बसोबास) को यथाशीघ्र उचित प्रबन्धका लागि प्रदेश सरकारसँग जोडदार माग गर्दछौं ।”
विज्ञप्तिमा बाढी, पहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा, सञ्चार, विद्युत, खानेपानी लगायत भौतिक पूर्वाधारहरूको यथाशीघ्र पुननिर्माण कार्य थालनी गर्न पनि माग गरिएको छ ।
कैलाली जिल्लामा केही दिनदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी, र डुबानले जनधनको क्षति हुनुको साथै जनजीवन प्रभावित भएकोप्रति नेपाली काँग्रेस, कैलालीको ध्यानाकर्षण भएको सभापति शाहले बताए । सभापति शाहलले बाढी तथा डुबानबाट ठूलो संख्यामा मानिस विस्थापित हुनका साथै सयौं हेक्टर खेतियोग्य जमिन डुबानमा परेको र जिल्लाको पूर्वीदक्षिण भेगमा डुबानका कारण सडक यातायात अवरुद्ध भएको बताए ।
उनले भने– “प्राकृतिक प्रकोपले बर्सेनि दु:ख दिने गरेको र समयमै उद्धार नहुँदा प्रकोपबाट पीडित तथा प्रभावित भएका जनता जोखिममा पर्ने गरेका छन् । प्रदेश सरकारले विगतका घटनाबाट पाठ सिकेर दीर्घकालीन रूपमा विपत व्यवस्थापन योजनालाई प्राथमिकतामा राख्दै सम्भावित अत्यधिक वर्षाको समय अझैं बाँकी रहेकोले विपत अघिको पूर्व तैयारीमा लाग्न जरुरी छ ।”
उनले बाढी प्रभावित गाउँपालिका तथा नगरपालिकाका नेपाली काँग्रेस र भातृ संगठनका कार्यकर्तालाई उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पुर्याउन आह्वान गरे ।
आइतबार रातिदेखि परेको भारी वर्षाका कारण कैलालीमा एक बृद्धाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नेपाली काँग्रेस कैलालीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।