२ माघ २०८१, बुधबार

सरसफाईलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ– मन्त्री भट्ट



धनगढी । प्रदेश नम्बर ७ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले प्रदेशका ८८ वटै स्थानीय तहहरूले सरसफाई योजनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएकी छन् ।
“जवसम्म मानिस स्वच्छ रहन सक्दैन तबसम्म प्रदेशको समृद्धिको परिकल्पना सम्भव छैन” बुधबार धनगढीमा खानेपानी तथा ढल निकास विभागको आर्थिक सहयोग र सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियरिङको आयोजनामा भएको “मानव मलमुत्रीय फोहर व्यवस्थापनका लागि नीतिगत, संस्थागत तथा नियमक खाका” सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भट्टले प्रदेशका सबै स्थानीय तहले स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन र सरसफाईलाई ध्यान दिएर योजना निर्माण गरी अघि बढ्न जरुरी भएको बताइन् ।

माया भट्ट
सात नम्बर प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री

उनले सरकारले प्रदेशलाई सरसफाईमा उत्कृष्ट प्रदेश बनाउने योजनासहित काम गरिरहेको बताइन् ।
मन्त्री भट्टले प्रदेशका अधिकांस जिल्लामा स्वच्छ खानेपानी पुग्न नसकेको र सरसफाईका क्षेत्रमा कमजोर रहेको स्मरण गराउँदै ‘गरिबी, जनचेतनाका अभाव लगायतले प्रदेशलाई स्वच्छ राख्न चुनौति देखिएको’ बताइन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार गणेश शाहले स्वच्छ प्रदेश निर्माण गर्नका लागि जिल्ला तथा स्थानीय तहमा प्रोत्साहित कार्यक्रम अघि बढाउन जरुरी चर्चा गरे । उनले सरसफाईमा उत्कृष्ट नगर तथा गाउँलाई पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताए । उनले स्थानीय तहहरूले सरसफाईका सूचकांक बनाएर कार्यक्रम तथा योजना अगाडि बढाउन सुझाव दिए । सल्लाहकार शाहले स्थानीय तथा जिल्लाले स्वच्छ पानी, प्रदूर्षण नियन्त्रण र फोहोर व्यवस्थापनलाई ध्यान दिन जरुरी रहेको बताए ।
संस्थाका अध्यक्ष रामदीप शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव सुमन शर्मा, प्रदेश सांसदद्वय रतनबहादुर थापा र अम्मरबहादुर साउँद, दिपायल–सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ८८ वटै स्थानीय तहका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संघ/संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार