स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौं– मन्त्री सोडारी
धनगढी । प्रदेश सातका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन ठोस पहल गरिरहेको बताएका छन् ।
बुधबार कैलालीको भजनीमा सिकलसेल एनिमिया शिविरको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री सोडारीले सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गरेको दोहोर्याए ।
मन्त्री सोडारीले थारू समुदायमा देखिएको सिकलसेल एनिमिया निवारणका लागि व्यापक जनचेतना अभिबृद्धिमूलक कार्यक्रम आवश्यक रहेको र सोही अनुरूप कैलाली र कञ्चनपुरमा शिविर सञ्चालन गरिएको बताए ।
उनले सिकलसेल एनिमिया रोग पहिचानका लागि आउँदो आर्थिक वर्षभित्र भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण जडान गरिने बताए ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले भजनी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागि आवश्यक पहल गरिने बताइन् ।
प्रदेश सभा सदस्य वीरमान चौधरीले भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ सैयाबाट २५ सैयाको अस्पतालका रूपमा विकास गरिने बताए ।
भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सभासद हरि श्रीपाइली, उपप्रमुख छाया देवकोटा लगायत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको सहभागिता रहेको थियो ।