नदीमा पानीको वहाव घट्दै
धनगढी । कैलाली सहित ७ नम्बर प्रदेशका ठूला तथा साना नदीहरूमा पानीको सतह घट्दै गएको छ । गत आइतबार रातिदेखि परेको वर्षाका कारण अधिकांस नदीमा पानीको वहाव बढ्दै गए पनि मंगलबार बिहानदेखि पानीको सतह घट्दै गएको छ ।
कैलालीको चिसापानी स्टेशनका अनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा आठ दशमलब आठ मिलिलिटर वर्षा भएको उल्लेख छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझ सात बजेसम्म कर्णाली नदीको सतह सात दशमलब ८७ मिटरमा स्थिर रहेको थियो । उता, महाकाली नदीमा पनि पानीको बहाव क्रमश: घटिरहेको छ ।
मंगलबार बिहान १० बजेसम्म महाकाली नदीको एक लाख ४७ हजार क्युसेक पानीको सतह पुगेको थियो । सोमबारदेखि भारतीय पक्षले बनबासा पुलमा ठुला सवारी साधनमा रोक लगाए पनि दिउँसो पानीको सतह घट्दै गएपछि मंगलबार पुन: सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
तीन दिनदेखि अविरल रूपमा परिरहेको वर्षाका कारण महाकाली नदीले कञ्चनपुरमा निर्माणाधीन तटबन्धको ‘स्पर’ भत्काएको छ । महाकाली नदीमा पानीको वहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीमा बााधिएको तटबन्धको ‘स्पर’ भत्काएको जनाइएको छ ।
ओदालीका स्थानीय शेरबहादुर देउवाले महाकाली नदीको सतह बढेपछि स्पर भत्काएको बताए । उनका अनुसार सोमबार एक स्पर पुरै भत्काएको छ भने अर्को स्पर भत्किने क्रममा छ । “नदीले तारजालीको भित्रबाटै ढुंगा बगाएर लागेको छ” उनले भने– “बाँध नै भत्किएर पुरै नदी महाकाली गाउँ पस्ने खतरा छ ।”
जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख प्रचण्ड बिष्टले लन्चिङ अप्रोन भत्किएको हुनसक्ने बताए । “अहिले महकालीमा पानीको बहाव बढि छ” उनले भने– “स्थलगत अनुगमन गरेर पुनर्निर्माण गर्छौ ।”
उनका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ११ र १२ मा केएस कन्सष्ट्रक्सनले १३ तटबन्धको निर्माण गर्ने जिम्मा पाएको थियो । ठेक्काको गत बैशाखमै सम्झौता सकिए पनि निर्माण कम्पनीले भुक्तानी नपाएका कारण देखाउदै काम रोकेकाले स्पर भत्किन लागेको स्थानीयको गुनासो छ ।
चालु आर्थिक वर्ष २०७४/०७६ मा महाकाली नदी नियन्त्रणका लागि ५६ करोड रुपैयाँको टेण्डर आह्वान भए पनि निर्माण कम्पनीले समयमै सरकारले भुक्तानी नगरेको भन्दै काममा आलटाल गरेका थिए । जसका कारण महाकाली नदी नियन्त्रणमा समस्या भएको स्थानीयको भनाइ छ
मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म मध्यम र भारी वर्षा हुने र आज (बुधबार) देखि मनसुन केही कमजोर हुँदै जाने उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज (बुधबार) र भोलि (बिहीबार) देशैभर ठूलो जोखिम नहुने देखिएको उल्लेख गरेको छ ।