अविरल वर्षापछिका कारण १० काे ज्यान गयाे
काठमाडाैं । अविरल वर्षापछिको बाढी-पहिरोका कारण शनिबार र आइतबार गरी १० जनाले ज्यान गुमाएका छन्। बाढी-पहिरोबाट ८ जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार, चितवन, बाँके, रोल्पा, कैलाली, सिन्धुली र काठमाडौंमा मानवीय क्षति भएको हो। सोमबार साँझसम्म १० जनाको मृत्यु भएको विवरण प्राप्त भएको उनले बताए।
‘तराईका जिल्लामा बाढीको समस्या छ भने पहाडी जिल्लामा पहिरोले क्षति पुर्याएको छ’, उनले भने।
उद्धारका लागि हेलिकोप्टर तैनाथ
उद्धारका लागि गृह मन्त्रालयले ४ ठाउँमा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ।
सह-सचिव सुवेदीका अनुसार काठमाडौंका साथै इटहरी, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।
७७ जिल्लामै प्रशासन तथा सुरक्षाकर्मीलाई वर्षाका कारण हुनसक्ने प्राकृतिक प्रकोप विरुद्ध सतर्क रहन निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार