११ श्रावण २०८१, शुक्रबार

सञ्चार जगत र राजनीतिक नेतृत्व एकअर्काका विरोधी होइनन्– मन्त्री शाह



धनगढी । प्रदेश सातका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले सञ्चार जगत र राजनीतिक नेतृत्वबीच समन्वय र सहकार्य भएमा धेरै समस्या समाधान हुने बताएका छन् ।
हामी (मिडिया र राजनीतिक नेतृत्व) एकअर्काको विरोधी होइनौ शनिबार धनगढीमा आयोजित प्रदेश स्तरका सञ्चार माध्यमको अवस्था विश्लेषण सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै मन्त्री शाहले भने– आउनुहोस् हामी सबै प्रदेशको समृद्धिका लागि हातेमालो गरौं ।
मन्त्री शाहले मिडियाले समस्या उजागर गर्ने मात्रै नभएर समाधानका लागि सुझाव समेत दिन आग्रह गरे । आम नागरिकले समस्या औल्याउँछन्, तर मिडियाले आम नागरिक झैं समस्या औल्याउने मात्रै नभएर समाधानका लागि मार्गनिर्देशन पनि गर्नुपर्छ उनले भने– हामी समस्या खोज्नका लागि मात्रै होइनौ, समस्याको निराकरणका लागि पनि हौ भन्ने सोचका साथ काम गर्नु आवश्यक छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव निर्मलकुमार न्यौपानेले प्रादेशिक सञ्चार नीति तर्जुमा गर्नका लागि मन्त्रालयले कार्यदल गठन गरेर काम शुरु गरिसकेको जानकारी दिए ।
निमित्त सचिव न्यौपानेले भरखर बामे सर्दै गरेको प्रदेश सरकारले जनताको अपेक्षा अनुसार काम गर्न समय लाग्ने बताए । उनले भने– यो अवस्थामा सञ्चार सहित सबै क्षेत्रको सहयोग अझ आवश्यक छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ, प्रदेश नम्बर सात समितिको समन्वयमा भएको कार्यक्रममा प्रदेशका सबै नौ जिल्लाका पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मी सहित ८० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वार, पूर्व उपसभापति उमीदप्रसाद बागचन्द, कैलालीका अध्यक्ष जगत साउद, बाजुराका अध्यक्ष प्रकाश सिंह, डोटीका अध्यक्ष योगेन्द्र बलायर, कञ्चनपुरका अध्यक्ष बिष्णु अवस्थी, पत्रकार अमिता कुँवर, शिवराज तिमिल्सिना लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा गगनबहादुर रावलले स्वागत गरेका थिए ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनसम्बन्धी अन्तक्र्रिया
श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको अवस्था, समस्या र समाधानका उपायबारे छलफल गर्न शनिबार धनगढीमा अन्तक्र्रिया भएको छ ।
न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ, सात नम्बर प्रदेश समितिको समन्वयमा भएको कार्यक्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौति र समस्या तथा अवसर र सम्भावनाबारे गहन छलफल भएको थियो ।
सो अवसरमा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले सञ्चार गृहहरूबाट सूचना मन्त्रालय र विभाग, प्रेस काउन्सिल, पत्रकार महासंघ लगायतका निकायमा पेस गरिएका कागजातमा ऐन पूर्ण रुपमा कार्यँन्वयन भएको देखिने भए पनि यथार्थमा ऐन कार्यान्वयनको अवस्था अझैं कमजोर रहेको चर्चा गरे ।
अध्यक्ष पराजुलीले सञ्चार माध्यमको लगानी, व्यवस्थापन तथा कभरेजका आधारमा वर्गीकरणको पुनरावलोकन आवश्यक भएको बताए । उनले सधैं भरी ऐनका कार्यान्वयन नभएको गुनासो गरिरहनुको अर्थ नभएको बताए । भने– पारिश्रमिक दिन नसक्ने सञ्चार गृहले किन पत्रकारलाई काममा लगाउने र पारिश्रमिक पाइदैन भन्ने थाह पाएर पनि किन काममा लाग्ने ?
सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सन्दर्भमा प्रदेश तथा स्थानीय सरकारको दायित्व के हुने भन्नेबारे व्यापक बहस आवश्यक रहेको बताए ।
उनले ऐन कार्यान्वयनमा कमजोरी रहनुमा सञ्चारकर्मी स्वयं पनि जिम्मेवार रहेको चर्चा गरे । उनले भने– ऐन कार्यान्वयनको सन्दर्भमा सञ्चारकर्मी, सञ्चार माध्यम र नियामक निकायको कमजोरी रहेको छ ।
पूर्व अध्यक्ष झाले विरोधाभाषी सोच, अभ्यास र प्रवृत्तिका कारण पनि ऐन कार्यान्वयनमा कमजोरी रहेको बताए । भने– ऐनले तोकेअनुसारको प्रावधानको पालना नगर्ने, तर सधैं न्युनतम पारिश्रमिकको कथाव्यथा दोहो¥याइरहनु गलत हो ।
सञ्चारिका समुहका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनका लागि स्वायत्त र अधिकारसम्पन्न समिति आवश्यक रहेको चर्चा गरिन् ।
कार्यक्रममा प्रदेश सातमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे प्रस्तुति गर्दै नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वारले सञ्चार माध्यममा ऐन कार्यान्वयनको दबाव बढ्दै गएको बताए । उनले भने– राज्यबाट प्राप्त हुने सेवासुविधा पाउनकै लागि कागजमै भए पनि ऐनका प्रावधान पुरा गरेको देखाउने गरिएको अध्ययनले देखाउछ ।
उनले प्रदेश तथा स्थानीय सरकारको गठन तथा सञ्चालन, स्रोतसाधनको विकेन्द्रीत रुपमा वितरण, पाठक तथा विज्ञापन बजारको विस्तार, व्यावसायिकतातर्फ उन्मुख मिडिया लगायतका कारण साना लगानीका सञ्चार माध्यममा पनि श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि उपयुक्त वातावरण सिर्जना हुनसक्ने बताए ।
कार्यक्रम महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्यद्वय मिन बम र श्याम भट्ट, पूर्व केन्द्रीय उपसभापति उमीदप्रसाद बागचन्द,पूर्व क्षेत्रीय संयोजक कर्ण शाह, बानका उपमहासचिव गोविन्द रोस्यारा, पत्रकार महासंघका कञ्चनपुर अध्यक्ष बिष्णु अवस्थी, डोटीका अध्यक्ष योगेन्द्र बलायर, कैलालीका पूर्व अध्यक्ष भरत शाह, बाजुराका अध्यक्ष प्रकाश सिंह, शिवराज तिमिल्सिना, लक्ष्मण तिवारी, लोकेश अधिकारी लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन महासंघका प्रदेश महासचिव योगेश रावलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार