बजेटमाथिको छलफल जारी
धनगढी । प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमाथि प्रदेश सभा (संसद) मा बिहीबार पनि छलफल जारी रह्यो ।
बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा १५ जना सांसदहरूले धारणा व्यक्त गरे । छलफलका क्रममा सत्तापक्षीय सांसदहरूले बजेटको बचाउ गरे भने प्रतिपक्षी दलका सांसदहरूले सामान्य आलोचना गरेका थिए । केही प्रतिपक्ष सांसदहरूले बजेट वितरणमा भेदभाव गरिएको भन्दै आक्रोस व्यक्त गरे । बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारका मन्त्रीहरूको निर्वाचन क्षेत्रलाई केन्द्रीत गरी बजेट विनियोजन गरेका कारण क्षेत्रगत सन्तुलन गर्न सरकार चुकेको बताए । सांसद खड्काले भने– हामीले थिति बसालेर काम गर्न शुरु गयौं भने त्यसले दीर्घकालसम्म राम्रो परिणाम दिन्छ, तर थिति बसालेनौ भने आफु सत्ताबाट बाहिरिएपछि बजेटका लागि झगडा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।
सांसद खड्काले बामे सर्दै गरेको प्रदेशलाई सही ढंगले चलाउन सरकारले सन्तुलित विकासको अवधारणामा ध्यान दिन सुझाव दिए । हाम्रो प्रदेश १० वर्षपछि यस्तो हुन्छ भन्ने स्पष्ट नक्सा राखेर काम गर्नुपर्ने अवस्था रहेको छ उनले भने– सन्तुलित विकासको अवधारणा अनुसार सरकार अगाडि बढे भनेमा प्रतिपक्षको पनि साथ रहने छ । उनले मुक्त कमैया, मुक्त हलिया, सुकुम्बासी समस्याको दीर्घकालीन सम्बोधन गर्न सरकारले ठोस पाइला चाल्न आग्रह गरे ।
बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद दिव्येश्वरी शाहले प्रतिपक्षी सांसदहरूले प्रस्तुत गरेका योजना नसमेटेर सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाइन् ।
कांग्रेसकै सासंद अम्बिकुमारी थापाले आफुले पेश गरेका ३० योजनामध्ये बजेटमा एउटा पनि नसमेटिएको आपत्ति व्यक्त गरिन् । उनले भनिन्– सायद प्रदेश सरकारले मलाई महिला तथा सबैभन्दा कान्छी सांसद भएकोमा हेपेको होला ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाथारुले प्रदेश सरकारले बजेट विनियोजन गर्दा समानुपातिक तर्फका सांसदहरूलाई उपेक्षा गरिएको आरोप लगाइन् । उनले आफुले पेस गरेको कुनै पनि योजना नसमेटिएको बताइन् । उनले ब्यंग्य गरिन्– सरकारले ठूलो रकम राखेर बनाएको डल्लो बजेट घनले हिर्काउँदा पनि नफुट्ने खालको छ ।
बजेटमाथिको छलफलमा भाग लिँदै सत्तापक्षीय सासंद बलदेव रेग्मीले प्रदेश बस सेवा, जलविद्युत विकास बोर्ड, पर्यटन बोर्ड जस्ता अवधारणा समाजवादी अर्थतन्त्र बनाउने पहलका रुपमा आएको दाबी गरे । उनले जनतालाई सुविधा दिन राज्यको लगानी हुनुपर्ने मान्यताका आधारमा ती कार्यक्रम ल्याइएको दाबी गर्दै मुख्यमन्त्री कृषि कार्यक्रम प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रम भएको बताए ।
सत्तारुढ नेकपाका अर्का सांसद प्रेमप्रकाश भट्टले आर्थिक वर्ष २०७५÷०७६ को बजेटले प्रदेशको विकाको ढोका खोल्ने दाबी गरे । उनले बैतडीमा तीन जिल्लाको सडक सञ्जाल जोडिने भएकोले सडक दुर्घटना हुँदा घाइतेहरुलाई तत्काल उपचार आवश्यक रहेकोले दार्चुला, बझाङ र बैतडीको बीच भाग पाटनमा सुविधासम्पन्न ट्रमा सेन्टर राख्न माग गरे ।
नेकपाका सांसद लालबहादुर खड्काले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्रफल विस्तार गर्दा घरबारबिहीन भएकाहरू अहिले पनि शिविरमा कष्टकर जीवन यापन गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गरे ।
नेकपाका अर्का सांसद नेपालु चौधरीले आफ्नो निर्वाचन क्षेत्र र प्रतिपक्षी दलका सांसदको निर्वाचन क्षेत्रमा छुट्ट्याइएको बजेटमा समानता रहेको दाबी गरे ।
सत्तापक्षका अर्का सांसद कैलालीका अमर साउँदले केन्द्र सरकारले बजेट नदिएकोले आफ्नो निर्वाचन क्षेत्रमा नदी कटानको ठूलो जोखिम रहेकोले र तीन वटा ठूला नदीले डुबान र कटान गरिरहेकोले खेतीयोग्य जमिनको संरक्षणका लागि नदी नियन्त्रण योजना सञ्चालन गर्न माग गरे ।
नेकपाकै सांसद पूर्णा जोशीले बजेटमा प्रदेश बस सेवा, हरेक स्थानीय तहमा सुपथ मुल्य पसल, प्रदेश खाद्य संस्थान स्थापना गर्ने जस्ता रचनात्मक योजना समेटिएको चर्चा गरिन् ।
बजेटमाथिको छलफलमा सत्तापक्षीय सांसदहरु बलबहादुर सोडारी, सुशीला बुढाथोकी, शान्ति नेपाली र कुन्ती जोशीले पनि धारणा व्यक्त गरेका थिए ।