१२ श्रावण २०८१, शनिबार

कमलरी मुक्ति दिवसमा शोकसभा



धनगढी । पाँचौं कमलरी मुक्ति दिवसको अवसरमा बुधबार कैलालीमा शोकसभा गरिएको छ । मुक्त कमलरी विकास मञ्चको आयोजनामा बुधबार मुक्ति दिवस शोकसभा गरेर मनाइएको छ ।
मुक्त कमलरी विकास मञ्चका अध्यक्ष विष्णा चौधरीले कैलाली, दाङ र बर्दियामा अरुको घरमा काम गर्ने क्रममा छ जना कमलरीको ‘हत्या’ भएको विरोधमा शोकसभा आयोजना गरिएको बताए ।
उनले सरकारले २०७० साल असार १३ गते कमलरी मुक्ति घोषणा गरे पनि अझै कमलरी राख्ने कार्य जारी रहेको बताइन् । उनले सरकार र कमलरी आन्दोलनकारीबीच भएको दश बुँदे सम्झौता पनि कार्यान्वयन नभएको दावी गरिन् ।
कार्यक्रममा मञ्चका केन्द्रीय सचिव सुजाता चौधरीले स्थानीय प्रशासनको लापरवाही र कमलरीको उद्दार नगर्दा अहिले पनि कमलरी बस्ने क्रम जारी रहेको चर्चा गरिन् ।
थारू कल्याणकारिणी सभाका सचिव माधव थारूले कमलरी जस्तो कुप्रथालाई समाजबाटै वहिस्कार गरिनु पर्ने बताए ।
मुक्त कम्लहरी विकास मञ्चका अनुसार कैलालीमा तीन जना कमलरीको हत्या भएको छ भने दुई जना वेपत्ता रहेका छन् ।
कैलालीमा तीन हजार एक सय ६९ मुक्त कमलरी रहे पनि दुई हजार सात सय ६७ जना मुक्त कमलरीले मात्र सरकारबाट मान्यता पाएका छन् । हालसम्म दुई हजार तीन सय ३० जनाले कम्लरीले भुमिसुधार कार्यालयमा आवेदन दिए पनि हालसम्म एक जनाले पनि परिचयपत्र नपाएको मञ्चले बताएको छ । जिल्लामा अझै चार सय दुई जना कमलरी दर्ता हुन बाँकी रहेका छन् ।
कैलालीमा अझैं २८ जना कमलरीका रूपमा काम गरिरहेका छन् । मुक्त कमलरी विकास मञ्चका अनुसार १६ वर्ष मुनिका १८ जना, १७ देखि १८ वर्ष उमेरका सात र १९ वर्ष उमेर बढीका तीन जना कमलरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार