भंगीनालामा गरियो सरसफाई
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १, जिल्ला प्रहरी कार्यालयदेखि जयलक्ष्मी टोलसम्मको भंगी नाला सफाई पुरा भएको छ ।
सो नालामा गत वर्षदेखि नै सरसफाई तथा अतिक्रमण कार्य शुरु भएको थियो । वडा नम्बर १ का वडा सदस्य सुवास चन्दले स्थानीयको सक्रियता तथा सहभागितामा जिल्ला प्रहरी कार्यालयदेखि पश्चिमतर्फको भद्रपुर वस्ती रहेको टोलसम्म नाला सफाई गरिएको बताए ।
गत वर्ष सुदूरपश्चिम साहित्य समाजदेखि जिल्ला प्रहरी कार्यालयसम्मको नाला सफाई गरिनुका साथै नाला चौडा गरिएको थियो ।
खोलानाला अतिक्रमण भएका कारण वर्षायाममा नजिकका वस्तीमा डुबानको चर्को समस्या रहने गरेको बताए । वडा सदस्य चन्दले नगर क्षेत्रमा रहेका भंगी नाला, शिवनगर नाला, कैलाली नाला लगायतका नाला अत्यधिक अतिक्रमणमा परेको बताए ।
केही दिनअघि नैनादेवी टोल विकास समितिले नैनादेवीदेखि जिल्ला वन कार्यालय पछाडीसम्मको नाला डोजर लगाएर खोलेको थियो । नक्सामा नाला भए पनि चलनचल्तीमा रहेको थिएन । वडा नम्बर १ सहित विभिन्न स्थानमा डुवानको समस्या कम गर्नका लागि वडा तथा उपमहानगरपालिकाको पहलमा तथा स्थानीयको सक्रियता र सहयोगमा अतिक्रमण हटाउने तथा सरसफाई गर्ने लगायतका काम गरिरहेका छन् ।
“खोलानालाको अतिक्रमण र फोहर हटाउने कामलाई हामीले सकारात्मक रुपमा लिएका छौं”, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का खडकबहादुर विकले भने– “यसमा सबैले साथ दिनुपर्छ ।” उनले खोलानालाले आफ्नो ठाउँ लिदा वर्षातमा हुने डुवान रोकिने अपेक्षा व्यक्त गरे ।
उपमहानगरपालिकाको वडा नम्बर १, वडा नम्बर ३, वडा नम्बर ११ र वडा नम्बर ५ मा खोलानाला अतिक्रमण हटाउन डोजर प्रयोग गरिएको धनगढी उपमहानगरपालिकका प्रवक्ता सन्तोष मुडभरीले बताए । “खोलानालाको अतिक्रमण हटाउने कार्यमा नगरवासीहरूको साथ रहेको छ” प्रवक्ता मुडभरीले केही ठाउँमा अतिक्रमणकारीले काम रोक्न प्रतिवाद समेत गरे पनि स्थानीयको समर्थन र सहयोगमा सफल नभएको बताए । उनले नगरवासीको हितमा भएकाले गलत ढंगले खोलानालाको अतिक्रमण हटाउने काममा सबैको सहयोगका लागि आग्रह गरे ।