६ माघ २०८१, आईतवार

सूचना प्रवाह प्रभावकारी बनाउन माग



टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ५ का स्थानीयहरूले वडास्तरको कार्यक्रम र योजनाको बारेमा सूचना प्रवाहलाई प्रभावकारी बनाउन माग गरेका छन् ।
टीकापुर नगरपालिका वडा नम्बर ५ को आर्थिक वर्ष २०७४/०७५ को सेवा प्रवाह, कार्यक्रम योजनाबारे सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरूले वडामा रहेको योजना, कार्यक्रमको बारेमा स्थानीयलाई समयमा जानकारी दिनुपर्ने, पार्दशिता र जावफदेहिता हुनुपर्ने माग गरे ।
कार्यक्रममा सहभागी गगनसिंह ठकुल्लाले हतारमा वडाको योजना बनाउने कार्य भएकोले नीतिगत, प्रक्रियागत, प्राविधिक मापदण्डअनुसार नभएको बताए । उनले उपभोक्ता समिति गठन प्रक्रियामा ध्यान दिई वडाको योजनालाई सम्भाव्यताका खोजी गरी प्राथमिकीकरण गर्नुपर्ने बताए । उनले वडाको योजनाको सार्वजनिक परीक्षण गर्नुपर्ने भए पनि वडामा सामाजिक परीक्षणमा किर्ते हस्ताक्षर हुने गरेको आरोप लगाए ।
अर्का सहभागी सिंहराज मगरले वडामा सीप विकाससँग तालिम भए पनि प्रत्येक समुदायमा समयमा सूचना प्रवाह गरी कार्यक्रममा समेट्नुपर्ने बताए ।
धर्मराज जैशीले वडा तहमा वडघरसँग कुनै सहकार्य नभएको गुनासो गरे । भने उषा चौधरीले लक्षित वर्गको कार्यक्रम अन्तर्गत महिलाको लागि छनौट भएको योजनाको कार्यक्रम आर्थिक वर्षको मसान्तमा वडाले कसरी सञ्चालन गर्छ भन्ने जिज्ञासा राखेकी थिइन् ।
वडाको सेवा प्रवाह, कार्यक्रम र योजना सम्बन्धी स्थानीयको जिज्ञासाको वडाध्यक्ष रामशंकर डंगौरा, वडा सचिव जंगबहादुर कार्की र प्राविधिक मीनबहादुर थापाले उत्तर दिएका थिए ।
सार्वजनिक सुनवाई कार्यक्रमको टिप्पणीकर्ता पत्रकार गणेश चौधरी र दुर्गा देवकोटा रहेका थिए । उनीहरूले जनताको जनगुनासोप्रति सचेत बन्दै वडाको कार्यक्रम रयोजनामा समान सहभागिता, प्रतिवद्धताअनुसार काम गर्नु र भौतिक विकास भन्दा मानवीय विकासको लागि कार्य गर्नुपर्ने बताएका छन् ।
टीकापुर नगरपालिका वडा नम्बर ५ ले आर्थिक वर्ष २०७४/७५ मा ९५ लाख ८४ हजार ८ सय ४६ रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
चालू आर्थिक वर्षमा सो वडाका लागि पूर्वाधार विकासमा ५५ लाख ६९ हजार दुई सय १० रुपैयाँ विनियोजन भई ३३ वटा योजना छनौट गरी हालसम्म ३१ योजना पुरा भइसकेको जनाइएको छ ।
सामुदायिक रेडियो टीकापुर एफएमले सहजीकरण गरेको कार्यक्रम सञ्चालन पत्रकार पूर्ण विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार