१२ माघ २०८१, शनिबार

मूल्यबृद्धि फिर्ता लिन माग गर्दै ज्ञापन



धनगढी । नेपाल विद्यार्थी संघ, कैलालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
नेविसंघका केन्द्रीय सदस्य तपेन्द्र भुषालसहितको टोलीले मुख्यमन्त्रीलाई मूल्यवृद्धि फिर्ता लिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको थियो ।
सो अवसरमा संघका केन्द्रीय सदस्य भुषालले प्रथम र दोस्रो चरणको आन्दोलनलाई नजरअन्दाज गरेर सरकारले वृद्धि गरेको मूल्य फिर्ता नगरेर प्रति लिटर दुई/तीन रुपैयाँ घटाएको नाटक मञ्चन गरेको बताए ।
नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा केन्द्र सरकारसँग कुराकानी गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेशभित्र कालोबजारी नियन्त्रण गर्न विषयगत कार्यालयलाई निर्देशन दिईसकेको बताए । “मैले पनि यहाँ कालोबजारी भइरहेको सुनेको छु” मुख्यमन्त्री भट्टले भने– “कालोबजारी रोक्न स्थानीय प्रशासनसँग छलफल गरी रोक्न निर्देशन दिइसकेको छु ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार