१२ माघ २०८१, शनिबार

प्रेमीसँग मिलेर श्रीमानको हत्या



धनगढी । विहे भएको तीन महिनामै एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ की लक्ष्मी बडैला (बिष्ट) ले आफ्नो प्रेमीसँग मिलेर आफ्ना श्रीमान तेजबहादुर बिष्टको हत्या गरेको बताइएको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० माइती भएकी लक्ष्मीले सोही नगरपालिका वडा नम्बर १२, खमौरा आफ्ना प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ ।
तेजबहादुर र लक्ष्मीको गत वैशाखमा मागी विवाह भएको थियो । तेजबहादुर र लक्ष्मी गत ८ गते ससुराल गएका थिए । तेजबहादुर सोही रातिदेखि सम्पर्कबिहीन भएको बताइन्छ । रातिदेखि तेजबहादुर बेपत्ता भएपछि आफन्तहरूले दुई दिन खोजी गरेको र फेला नपरेपछि दुई दिनपछि अर्थात् असार १० गते प्रहरीलाई सूचना गरेका थिए ।
प्रहरीको अनुसन्धानपछि तेजबहादुरको हत्या भएको र भासुको भिरमा खसालेको खुलेको थियो । जिल्ला प्रहरीका कार्यालय, कैलालीका प्रमुख (प्रहरी उपरीक्षक) विनोद घिमिरेले तेजबहादुरको हत्यामा संलग्न रहेको आरोपमा लक्ष्मी र दीपकलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरी उपरीक्षक घिमिरेका अनुसार दीपक र लक्ष्मीले पहिलादेखि नै एकअर्कालाई मन पराउँथें । लक्ष्मीले दीपकसँग विवाह गर्न चाहे पनि परिवारले नमानेर तेजबहादुरसँग विहे गरिदिएका थिए ।
माइती गएकी लक्ष्मीले सोही दिन घुम्न जाने भनेपछि तेजबहादुर र उनी म १ प ७४७७ नम्बरको मोटरसाइकल घुम्न निस्केका थिए ।
प्रहरी हिरासतमा रहेका अभियुक्तद्वय लक्ष्मी र दीपकले दिएको प्रारम्भिक बयानअनुसार भासुभिरमा पुगेपछि पहिलेदेखि नै त्यहा रहेका दीपकले तेजबहादुरको टाउकोमा फलामे रडले प्रहार गरी घाइते बनाएको र दुवै जना मिलेर मोटरसाइकलसहित उनलाई भिरमा खसालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार