एकद्वार प्रणाली लागू गर्न माग



धनगढी । माध्यामिक शिक्षक एसोसियसन नेपाल (हिस्टान) प्रदेश कार्य समितिले एकद्वार प्रणालीमार्फत देशभर एकै किसिमको शिक्षक रहने नीति बनाउन माग गरेका छन् ।
बिहीबार ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै हिस्टानले स्थायी, अस्थायी, निजी, अनुदान, करार र आंशिक जस्ता विभिन्न वर्गका शिक्षकलाई वर्गीकरण गरी अन्यौलको मानसिकतामा श्रम शोषण गरिने परिपाटीको अन्त्य गरी पेसागत स्थायित्वको सुनिश्चितता गर्नुपर्ने माग गरे ।
हिस्टानका प्रदेश अध्यक्ष त्रिलोकप्रसाद जोशीले साविकका उच्च माध्यमिक विद्यालय तहमा कार्यरत शिक्षकमाथि गरिएको विभेदकारी नीति तथा व्यवहारको अन्त्यसहित न्यायोचित र सम्मानजनक व्यवस्थापनको माग गर्दै १९ बुँदे मागपत्र बुझाए ।
लामो समयदेखि अध्यापनरत अस्थायी शिक्षकलाई विस्थापन गर्ने उद्देश्यले गर्न खोजिएको स्थगित अस्थायी शिक्षकको परीक्षा यथाशिघ्र सञ्चालन गर्नुपर्ने, स्थानीय तह, प्रदेश तथा केन्द्रको कुल बजेटको २१ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने, प्रदेश स्तरमा गठन तथा सञ्चालन हुने शिक्षा सम्बन्धी हरेक समिति तथा क्रियाकलापमा हिस्टानको सहभागिता सुनिश्चित गरिनुपर्ने, शिक्षाको गुणस्तर बृद्धि गर्न विषयगत तालिम सेमिनार गोष्ठीको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक माथिल्लो तह र श्रेणीबाट नियुक्ति गर्ने कानुन निर्माण गरिनुपर्ने, प्रदेशस्थित गाउँ तथा नगरपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई मासिक रूपमा तलबभत्ता निकासा गर्ने व्यवस्थाको थालनी गरिनुपर्ने, शिक्षक तथा कर्मचारीलाई उसको कार्य क्षमताका प्रगति विवरण हेरेर दण्ड र पुरस्कारको व्यवस्था गरिनुपर्ने, कर्मचारी बिमा अनिवार्य गर्ने कुरा उल्लेख गर्नुपर्ने, शिक्षकको मर्यादाक्रम निर्धारण गर्न पहल गर्नुपर्ने रहेको छ ।
ज्ञापनपत्र बुझदै मुख्यमन्त्री भट्टले केन्द्र, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर शिक्षामा देखिएका समस्याको समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले शिक्षामा बजेट बढाउने पक्षमा आफू नरहेको बताउँदै ‘शिक्षामा बजेट आवश्यकताभन्दा बढी छ त्यसको व्यवस्थापन मात्र हुन सकेको छैन् । उनले शिक्षा क्षेत्रमा रहेका वेथिति, विकृतिको अन्त्य गर्न प्रदेश सरकारले मात्र एकलै काम गरेर नहुने बताउँदै सम्पूर्ण शिक्षक, अभिभावक, राजनीतिक दल सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
नेपालमा साविक उच्चमाविको संख्या तीन हजार छ सय ९६ पुगेको छ । यस तहमा हाल आठ लाख भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् भने दुई हजार दरबन्दी, चार हजार अनुदानका र निजी स्रोतका गरी ३५ हजारको संख्यामा शिक्षकहरू कार्यरत रहेको हिस्टानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्