२१ भाद्र २०८१, शुक्रबार

दुर्व्यवहारप्रति कर्मचारीको आपत्ति



धनगढी । साल्टट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेमाथि दुर्व्यवहार गरिएको भन्दै कर्पोरेशनका कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
साल्टट्रेडिङ कर्पोरेशनका प्रदेश नम्बर ७ का सबै कार्यालयका कर्मचारी तथा कामदार पल्लेदार र हिमालयन खाद्य एण्ड प्याकेजिङ उद्योग लिमिटेडले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि तथा व्यापारीहरूद्वारा सहायक महाप्रबन्धक पाण्डेमाथि दुर्व्यवहार गरिएको भन्दै भत्सर्ना गरेका छन् ।
साल्टट्रेडिङ कर्पोरेशनका धनगढी उपमहानगरपालिका वडा नम्बर २, मुख्य बजारमा रहेको पुरानो भवन भत्काएर मल्टिकम्पलेक्स बनाउने प्रक्रिया अघि बढाइएपछि सो भवनको सटर भाडामा लिएर व्यापार गरिरहेका व्यापारी र उनीहरूको दवावमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भत्काउन नदिन धम्क्याएको विज्ञप्तिमा उल्लेख छ ।
‘कम्पनीको कार्यालय भवनमा सटर भाडामा लिएका व्यापारीहरूले कार्यालय समयमा कार्यालय प्रमुखलाई घेरेर अपशब्द प्रयोग गर्दै सरुवा गरिदिने धम्की दिनुका साथै दुव्र्यवहार गरेकोले प्रदेश नम्बर ७ मा रहेको अञ्चल कार्यलयको मातहतमा रहेको २४ वटै शाखा, उपशाखा र डिपो कार्यालयमा कार्यरत कर्मचारीहरू घोर विरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
केही दिनअघि धनगढी उपमहानगरपालिकाले साल्टट्ेरडिङको हालको भवन सडकको सीमाभित्र परेकोले भत्काउन पत्राचार गरेको थियो । धनगढीको चौराहदेखि क्याम्पस चोकसम्म हुलाकी सडक अन्तर्गत सडकको बीच भागबाट दायाँबायाँ १५/१५ मिटरभित्र बनेका भवनसहित भौतिक संरचना भत्काउन यसअघि नै निर्णय भइसकेको छ ।
साल्टट्रेडिङले सडकको सीमाभित्र परेको हालको भवन भत्काएर अत्याधुनिक मल्टिकम्पलेक्स भवन निर्माण गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार