२ माघ २०८१, बुधबार

विपद् जोखिम व्यवस्थापनबारे छलफल



धनगढी । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम मंगलबार धनगढीमा भएको छ ।
धनगढी उपमहानगरपालिका र सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा नेपाल रेडक्रस सोसाईटीको आयोजनामा सो कार्यक्रम भएको थियो ।
कार्यक्रमको सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री सोडारीले कैलाली सबैभन्दा बढी बाढीको जोखिममा रहेको बताए । उनले विपद् रोक्न नसकिने, तर त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले अहिलेको बजेट वक्तव्यमा केही कार्यक्रम समेटेको जानकारी दिए ।
उनले प्रदेश सरकारले मुख्यमन्त्री राहत कोष, अर्थमन्त्रालय अन्तर्गत विपद् नियन्त्रण कार्यक्रम लगायतका बजेट वक्तव्यमा रहेको र अहिले स्थानीय तहमार्फत प्रदेश सरकारले आक्समिक राहत कोष सञ्चालन ल्याउन छलफल गरिरहेको बताए ।
उनले विपद्मा सबैभन्दा बढी महिला तथा बालबालिका प्रभावित हुने भएकाले महिला सशक्तीकरण, क्षमता अभिवृद्धिका साथै विपद्का समयमा महिलामैत्री वातावरण बनाउन पहल गर्नुपर्ने बताए ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडको अध्यक्षतामा भएको कार्यक्रममा नरेन्द्र अर्यालले नेपालमा विपद् व्यवस्थामा भएका प्रयास, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, विपद्को अवस्थामा प्रजनन् स्वास्थ्य सामग्रीको आवश्यकता र सुरक्षित महिला मैत्री स्थलबारे प्रस्तुतिकरण गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीका निवर्तमान सभापति रतन कठायतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लोकराज जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार