ट्राफिक सम्मेलन तथा सडक सभ्यता अभिबृद्धि कार्यक्रम
लम्की । सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय अत्तरियाको आयोजनामा सोमबार लम्कीमा ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि कार्यक्रम भएको छ ।
कार्यक्रमको सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले उदघाटन गरेका थिए ।
सो अवसरमा मन्त्री शाहले लापरबाही, अज्ञानता, कानुनको उलंघन, ट्राफिक नियम उलंघनका कारण दुर्घटना हुने भएकाले यसको न्यूनीकरणका लागी प्रहरीसँगै आम जनता एकजुट भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री पठानसिंह बोहोराले सात नम्बर प्रदेशलाई ट्राफिक अनुशासनको नमुना प्रदेश बनाउन आह्वान गरे ।
लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईले ट्राफिक जनचेतना सम्बन्धीको पाठयक्रम नै राखेर विद्यालयमा पढाई हुनुपर्ने बताए ।
कार्यक्रमका अध्यक्ष तथा सात नम्बर प्रदेश प्रहरी प्रमुख शरद चन्दले यस आर्थिक वर्षमा सडक दुर्घटनामा परि मृत्यु हुनेको संख्या एक सय ५५ जना रहेको बताए ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी, स्थानिय सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम अघि लम्की जेसीजदेखि लम्की बसपार्कसम्म प्रभातफेरीको आयोजना समेत गरिएको थियो ।