११ श्रावण २०८१, शुक्रबार

जनप्रतिनिधि र व्यापारीबाट साल्टट्रेडिङ भवन नभत्काउन दवाव



धनगढी । साल्टट्रेडिङ कर्पोरेशनको धनगढीमा रहेको पुरानो भवन नभत्काउन जनप्रतिनिधि तथा व्यापारीहरूबाट दवाव आइरहेको आरोप लागेको छ ।
साल्टट्रेडिङ कर्पोरेशनले पुरानो भवन भत्काएर बहुउद्देश्यीय भवन (मल्टि कम्पलेक्स) बनाउने प्रक्रिया अघि बढाएपछि व्यापारीहरूको दवावमा धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले भवन नभत्काउन दवाव दिएको बताइएको छ ।
साल्टट्रेडिङ कर्पोरेशनले सटरको नयाँ टेण्डर खोल्ने तयारी गरिरहेका बेला धनगढी उपमहानगरपालिकाले सो भवन सडकको सीमानामा पर्ने भन्दै गत पुस २८ गते तत्काल भवन भत्काउन पत्राचार गरेको थियो । पत्राचारपछि नयाँ भवन निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा अहिले उपमहानगरपालिकाले नै नभत्काउन दवाव दिएको कर्पोरेशनका सहमहाप्रबन्धक केशवप्रसाद पाण्डेले बताए ।
उनले साल्ट ट्रेडिङ कर्पोरेसन केन्द्रीय कार्यालयले नयाँ भवन निर्माण गर्न स्वीकृति दिएपछि आफुले सोहीअनुसार तीन महिनाभित्रै सटर खाली गर्न गत बैशाख ११ गते व्यापारीहरूलाई पत्राचार गरेको बुझाए । तर, व्यापारीहरूले सो पत्र बुझ्न इन्कार गरेका थिए ।
यता, उपमहानगर प्रमुख वडले आफूले नयाँ भवन निर्माणको काम सुरु नहुँदासम्म सटर नभत्काउन आग्रह मात्रै गरेको बताए । “लामो समयदेखि साल्टट्रेडिङ कर्पोरेसनको भवनमा सटर भाडामा लिएर व्यापार गर्दै आएका व्यापारीहरू आफ्नो रोजीरोटी गुम्ने भन्दै गुनासो गर्न आएपछि मैले भवनको निर्माण कार्य शुरु नहुन्जेलसम्मका लागि सटर नभत्काउन मात्र सहमहाप्रबन्धक पाण्डेलाई फोन गरेको हुँ” नगर प्रमुख वडले भने– “मैले भनेको उहाँले राम्ररी बुझ्नु भएनछ ।” उनले सो भवन क्षेत्रीय सहरी विकास आयोजनाद्वारा बन्ने नयाँ सडकको सिमानामा पर्ने हुँदा भत्काउनुपर्ने भएकाले आफूले संरक्षण गर्ने भन्ने कुरै नआउने बताए ।
साल्टट्रेडिङका कर्मचारी शेरसिंह विष्टले पहिलो पल्ट बैशाख ११ गते सटर खाली गर्नेबारेको पत्र बुझाउन जाँदा कोही पनि व्यापारीले नबुझेको बताए । उनले भवन भत्काउने बारे वडा अध्यक्षले समेत पत्र नबुझेको बताए ।
भवन भत्काउने बारेमा असार १ गते पुन: पत्र बुझाउन जाँदा व्यापारीहरूले कार्यालयमै आएर धम्की दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार