३० भाद्र २०८१, आईतवार

हरेकसँग एउटै प्रश्न– “यो पुल निर्माण कहिले सकिन्छ ?”



भजनी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ३, का स्थानीयले शुक्रबार सञ्चारकर्मी आफ्नो क्षेत्रमा पुगेको जानकारी पाए । सञ्चारकर्मीलाई स्थानीयले निर्माणाधिन कान्द्रा नदीमा निर्माणाधिन पुललाई देखाउँदै प्रश्न गरे– “हजुर, यो पुलको काम शुरु भएको सात वर्ष भइसक्यो, तर अहिलेसम्म पिल्लर हाल्ने काम समेत पुरा भएको छैन । यो कहिले बन्छ होला ?” सञ्चारकर्मीहरूसँग यसको जवाफ हुने कुरै थिएन । स्थानीयले यही प्रश्न बारम्बार स्थानीय तहका जनप्रतिनिधि, हुलाकी सडक कार्यालयका कर्मचारी, ठेकेदार लगायतलाई दोहोर्‍याइसकेका रहेछन् ।
हुलाकी सडक अन्तर्गत २०६८ साल जेठमा सम्झौता भएको कान्द्रा नदीको पुल निर्माणको कार्य दुई वर्षभित्र पुरा भइसक्नुपर्ने थियो । तर, काम शुरु भएको सात वर्ष पुग्दा समेत अहिलेसम्म पिलर समेत बन्न सकेको छैन । भजनी नगरपालिका वडा नम्बर ३ का मानबहादुर चुनाराले भने– “यो पुल यस वर्ष पुरा हुन्छ कि भनेर आश्वासन त दिएका छन्, तर यस्तै चाला हो भने पुरा हुने छाँटकाट देखिन्न ।”
दुई वर्षको ठेक्का लिएर काम सुरु गरेको लामा शेर्पा जेभीले सडक विभागबाट पटक–पटक म्याद थप गरे पनि पुल निर्माण कार्य पुरा गर्न कुनै ध्यान नदिएको स्थानीयहरूको आरोप छ । नदिमा पुल नहुँदा वडा नम्बर ५ का बासिन्दा सामान्य सेवाबाट समेत वञ्चित भएका छन् । वर्षायाममा नदीमा डुंगा समेत चल्न नसक्ने भएबाट स्थानीयले झन् सास्ती भोग्नु परिरहेको छ ।
स्थानीय मानबहादुर साउँदले भने– “निर्माण सम्झौता भएको सात वर्ष बित्दासम्म सम्बन्धित निकायले अनुगमन समेत गरेको छैन ।” उनले नदिमा पुल नहुँदा सबभन्दा बढी विद्यार्थी, अशक्त, बृद्धबृद्धा, महिलाले बढी सास्ती भोगिरहेको बताए । उनका अनुसार वर्षातको तीन महिनासम्म विद्यार्थीले पठनपाठनबाट वञ्चित हुनुपरेको छ । बिरामीले स्वास्थ्य उपचार सेवा पाउन नसक्ने अवस्था हुने गरेको छ ।
वडा नम्बर ५ को सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका मानबहादुर साउँदले भने– “वर्षातको समयमा विद्यालयमा पढाउन जान समस्या हुने गरेको छ ।” उनका अनुसार वर्षात भइरहेको समयमा नदीमा डुंगा नचल्ने र नदी पनि ठूलो भएका कारण पार गर्न सकिदैन ।
स्थानीय जनप्रतिनिधि लगायत राजनीतिक दलका नेताहरूलाई पटक–पटक समस्या राखेपनि हालसम्म कसैले सुनुवाई नगरेको उनले गुनासो गरे ।
ठेक्का पाएको निर्माण कम्पनीले भने आयोजनालेनै ठेक्का सम्झौता भएपश्चात डिजाइन परिवर्तन गरेकाले समयमा निर्माण सम्पन्न गर्न नसकेको दावी गरेको छ । निर्माण कम्पनीका सब इञ्जिनियर राधेश्याम शर्माका अनुसार ३० प्रतिशत पुलको काम भइसकेको र एक वर्षभित्र सबैकाम सम्पन्न गरिने छ । आयोजनाले दोस्रो डिजाइन दिएपश्चात पनि कहिल्यै गिट्टीको अभाव, कहिल्यै तेलको अभाव जस्ता विविध कारणले निर्माण सम्पन्न हुन नसकेको सब इञ्जिनियर सर्माको भनाई छ ।
ठेक्का सम्झौता भएको सात वर्ष बित्दासम्म पुलको काम अलपत्र हुँदा हुलाकी सडक आयोजना भने मौन बसेको छ । विविध कारणले दुई/चार महिना म्याद थप्नु सामान्य रहेपनि म्याद थपेको सात वर्ष पुरा हुँदासम्म पुल निर्माणको काम ३० प्रतिशत पनि नहुनुमा निर्माण कम्पनीसँगै सम्बन्धित निकायको ठूलो कमजोरी रहेको स्थानीयको गुनासो छ ।
हुलाकी सडक आयोजना अन्तर्गत तीन करोड ४५ लाख २० हजारको लागतमा २०६८ साल जेठ ३१ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको लामा शेर्पा जेभीले सम्झौता मिति सम्पन्न गर्दासम्म कामको सुरुवातनै नगरेको स्थानीयले बताए ।
हुलाकी सडक कार्यालयका प्रमुख मनिस शाहले भने ‘सम्झौता हामीसँग भयो तर, काम सम्पन्न नभएपछि थप म्याद विभागबाटै लिने गरेका कारण कारबाही गर्न सकिएन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार