उपमहानगरपालिकाको सपिङ कम्पलेक्स अझैं अधुरो
धनगढी । धनगढी उपमहानगरपालिकाको निर्माणाधिन सपिङ्ग कम्पलेक्स अझै पुरा हुन सकेको छैन । २०७२ साल चैतमा सम्झौता भएको बहुवर्षीय सो आयोजनाको सम्झौता दुई पटक बढाइए पनि अझैं पुरा भएको छैन ।
सो सपिङ कम्पलेक्स भवन निर्माणका लागि शुरुमा आर्थिक वर्ष २०७३/७४ को असार मसान्तभित्र पुरा गर्ने सम्झौता भएको थियो । ठेक्का पाएको केएस/साउँद जेभीले समयमै काम गर्न नसकेपछि छ महिनाको म्याद थप गरियो, तर थप गरिएको समयमा पनि निर्माण कार्य पुरा नभएपछि पुन: आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्मको म्याद थप गरिएको छ ।
दुई तले सो सपिङ कम्पलेक्सको अहिले ८० प्रतिशतमात्र काम भएको धनगढी उपमहानगरपालिका कार्यालयले जनाएको छ । धनगढी उपमहानगरपालिकाका ईन्जिनियर द्विजराज भट्टका अनुसार सपिङ कम्पलेक्सको भौतिक संरचना निर्माणको काम सकिएको र फर्सिङ, रंगरोगन, विद्युत, खानेपानी जडान, झ्याल तथा ढोका लगायतका काम हुन बाँकी रहेका छन् ।
दुई करोड ९१ लाख ९० हजार सात सय ७१ रुपैयाँमा सम्झौता भएको सो कम्पलेक्स निर्माणका लागि ठेकेदारले हालसम्म दुई करोड १६ लाख १६ हजार चार सय ४३ रुपैयाँ भुक्तानी लिइसकेको छ । ईन्जिनियर भट्टले ठेकेदारले काम पुरा नगरेसम्म बाँकी रकम निकासा नगरिने बताए ।
भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीका धिरेन्द्र साउँदले निर्माण कार्य अन्तिम चरणमा पुगेको र छिट्टै पुरा गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गरिने बताए । उनले नाकाबन्दी, स्थानीय तह, प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन लगायतका कारणले भवन निर्माणको काममा ढिलाई भएको बताए । ‘अहिले काम तिव्र रूपमा अघि बढेको छ’ उनले भने– आगामी असोज महिनाभित्र निर्माण कार्य पुरा हुनेछ ।
उनले सम्झौता भएपछि काम शुरु गर्न नपाएको, असारदेखि काम अघि बढाउन खोज्दा ढुङ्गा, बालुवा र गिट्टीको अभाव तथा बन्द हडताल लगायतका कारणले एक वर्षसम्म काम गर्न नपाएको गुनासो गरे ।
धनगढी उपमहानगरपालिकाले कम्पलेक्स भवनको निर्माण कार्य पुरा नहुँदै सटर टेण्डरको सूचना जारी गरिसकेको छ । पहिलो सूचनामा न्यून आवेदन परेपछि पुन: सात दिने सूचना प्रकाशित गरिएको जनाइएको छ । ईन्जिनियर भट्टले उपमहानगरपालिकाले कम्पलेक्सको तल्लो १४ वटा सटरलाई भाडामा र माथिल्लो तल्लालाई कार्यालय प्रयोजनमा प्रयोग गर्ने तयारी गरिरहेको बताए ।