११ श्रावण २०८१, शुक्रबार

वर्षासँगै धुलोमिश्रित लेदो



काठमाडौं । खुला आकाशमुनि राखिएको मोटरसाइकल वर्षा भएपछि पखालिनुपर्ने हो । तर, शुक्रबार बिहान कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ४, ‘घ’ गाउँका हेमन्त न्यौपानेले वर्षा भएपछि उल्टो दृष्य देखे । उनी भन्छन्– “पानी पर्दा मेरो मोटरसाइकल घर बाहिर थियो । पानी रोकिएपछि मोटरसाइकलमा लेदो देखें । सुकेपछि छाम्दा हातमा धुलो लाग्यो ।”
उनको मोटरसाइकलमा मात्रै होइन, बारीमा साग, फलफूल, रुखविरुवाका पातमा पनि धुलो नै धुरो थियो । उनले भने– “बिहीबार बेलुका पानी पर्दा धुलो देखिएको थिएन, तर शुक्रबार बिहान ९ देखि १० बजेसम्म परेको सिमसिमे वर्षासँगै लेंदो पनि देखियो ।”
जेठ २५ गते नेपालमा मनसुन भित्रिए पनि मुलुकको पश्चिमी र मध्य भूभागमा अझै मनसुन सक्रिय भएको छैन । सो क्षेत्रमा अहिले भइरहेको वर्षा पश्चिमी वायुको प्रभावबाट भएको मौसमविदहरूको भनाई छ ।
शुक्रबार नेपालको पश्चिमका केही भूभागमा वर्षासँगै धुलोमिश्रित लेदो किन खस्यो ? मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटी भन्छिन्– “यो ‘डस्ट स्ट्रोम’ अर्थात् धुलोसहितको हावाहुरीको प्रभावका कारण हुनसक्छ ।”
केही दिनयता भारतको राजधानी नयाँदिल्लीसहित राजस्थान, पश्चिम बंगाल, पञ्जाब र उत्तरप्रदेशका कतिपय क्षेत्रमा हावाहुरी चलिरहेको छ ।
मौसमविद् नगरकोटी भन्छिन्– “पश्चिमी नेपालमा अहिले मनसुन नभएर पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको छ । यो समयमा नेपालको सीमा क्षेत्रका भारतीय सहरमा ‘डस्ट स्ट्रोम’ भइरहेकाले पानीमा धुलाको कण देखिएको हुन सक्छ ।”
उनका अनुसार अहिले नेपालको पूर्वी भेगमा मनसुन सक्रिय भएर वर्षा भइरहेको छ । नेपालको मध्य र पश्चिमी भेगमा मनसुन सक्रिय हुन अझैं तीन दिन लाग्ने छ ।
बिहीबार सिन्धु्पाल्चोक, रामेछाप, सिन्धुली क्षेत्रमा पनि वर्षासँगै धुलो मिश्रित लेदो खसेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार