११ श्रावण २०८१, शुक्रबार

विकास योजना पारदर्शी बनाउन आग्रह



टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर २ का स्थानीयले वडा तहमा सञ्चालन भएका योजना र कार्यक्रम पारदर्शी बनाउन आग्रह गरेका छन् ।
टीकापुर नगरपालिकाको वडा नम्बर २ को आर्थिक वर्ष २०७४/०७५ को सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले वडा तहबाट सञ्चालन भएको विकास आयोजनाबारे सर्वसाधारण जानकार र जिम्मेवार हुनुपर्ने बताए ।
सार्वजनिक सुनुवाईमा सहभागी तर्कबहादुर बुढाले बर्दिया जोड्ने सनकट्टीघाट सम्मको बाटो निर्माणमा ३३ लाख रुपैयाँ विनियोजन भएर काम भए पनि सडकको स्तरोन्नति हुन नसकेको गुनासो गरे ।
उनले प्राविधिकहरू समेतको सहभागितामा योजनाको बारेमा सार्वजनिक सुनुवाई गरिनु पर्ने बताए ।
कार्यक्रममा सहभागीहरूले योजना छनौटका लागि सूचना प्रवाह गरी जनसहभागिता बढाउनु पर्ने, विपन्न समुदायको हितलाई दृष्टिगत गरी योजना बनाइनु पर्ने बताए ।
जवालसिंह तिरुवाले वडामा योजना बनाउदा विपत व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गरे ।
प्राध्यापक मीनबहादुर शाहीले वडाले योजना, प्रगति, सुशासन, पार्दशिता कायम गर्नको लागि चौमासिक रूपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने बताए । उनले वडाले हरेक योजनाको लागतबोर्ड अनिवार्य राख्नुपर्ने, सामाजिक परिक्षण गर्नुपर्ने तथा वडास्तरबाट अनुगमन हुनुपर्ने बताए ।
जीतबहादुर चौधरीले वडा तहमा योजना धेरै रहने भए पनि लागत इष्टिमेटको आधारमा सबै पक्षबाट पुरा हुन सक्ने योजनाको आंकलन गरी योजना छनौट गर्नुपर्ने बताए ।
बड्घर हेमा चौधरीले वडा तहबाट बड्घर कोषको व्यवस्था गर्न माग गरिन् ।
शिक्षिका शान्ति काफ्लेले दुव्र्यशनीको संख्या बढ्दै जादा विद्यालयस्तरमा पनि लागूपदार्थ तथा दुव्र्यशनी न्यूनीकरणका लागि वडास्तरबाट योजना ल्याउन सुझाब दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका देवेश्वरी शाही, शेरबहादुर घर्तिमगर, पुरन राजवंशी, प्रेमसिह तिरुवा, कर्णबहादुर चौधरी, बलबहादुर रावल, रमिला सुनार, शरद थापा, कार्यपालिका सदस्य उपमा केसी, वडा सदस्य कमला सुनार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार मातृका तिमिल्सिना तथा शिद्ध ठुकुल्लाले कार्यक्रमबारे टिप्पणी गरेका थिए ।
टीकापुर नगरपालिकाको वडा नम्बर २ मा आर्थिक वर्ष २०७४/०७५ मा दुई करोड ३२ लाख २० हजार रुपैयाँको बजेट विनियोजन भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीबाट उठाइएका सवालमा वडा अध्यक्ष प्रकाशबहादुर बुढाले जवाफ दिएका थिए ।
सामुदायिक रेडियो टीकापुर एफएमले सहजीकरण गरेको कार्यक्रम सञ्चालन प्रबन्धक एकिन्द्र तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार