अन्तरविद्यालय क्रिकेट : विज्डम एकेडेमीलाई उपाधी



धनगढी । धनगढी क्रिकेट एकेडेमी कप अन्तर विद्यालय क्रिकेट–२०७५ को उपाधी विज्डम एकेडेमीले जितेको गरेको छ ।
बिहीबार भएको फाइनल खेलमा विज्डमले ऐश्वर्य विद्या निकेतनलाई २५ रनले हराउँदै उपाधी प्राप्त गर्‍यो ।
टस हारेर ब्याटिङ गरेको विज्डम एकेडेमीले २० ओभरमा आठ विकेट क्षतीमा एक सय २६ रन बनायो । विज्डमका सन्देश भट्टले ३१ तथा अजय चन्दले २२ रन बनाए । बलिङतर्फ ऐश्वर्य विद्या निकेतनका लक्ष्मण भण्डारीले तीन र निशान्त पन्तले दुई विकेट प्राप्त गरे ।
एक सय २७ रनको लक्ष्य पछ्याएको ऐश्वर्य १८ दशमलव तीन ओभरमा एक सय एक रनमा अलआउट भयो ।
ऐश्वर्यका वीरेन्द्र महराले ४२ तथा सुशील पन्तले २५ रन बनाए । ऐश्वर्यमाथि २५ रनको विजय प्राप्त गर्ने क्रममा विज्डमका प्रतीक भण्डारी र अजय चन्दले तीन/तीन विकेट लिए । खेलका म्यान अफ द म्याच विज्डमका अजय चन्द बने ।
खेलका म्यान अफ द सिरिज स्टेपिङ स्टोनका अभिषेक कुवर भए भने वेष्ट व्याट्सम्यान ऐश्वर्यका सुशील नाथ बने । त्यस्तै, राईजिङ प्लेयर विज्डमका सुशील पन्त घोषित भए ।

प्रतिक्रिया दिनुहोस्