१२ माघ २०८१, शनिबार

बडुवालले लिए कमलरीको पढाईको जिम्मेवारी



सुखड । नेपाली काँग्रेसका नेता भीम बडुवालले दुई जना मुक्त कमलरीको स्नातक तहको पढाईको जिम्मेवारी लिएका छन् ।
बिहीबार प्लान इन्टरनेशनल, नेपालले घोडाघोडी नगरपालिकाको सुखडमा आयोजना गरेको एक कार्यक्रममा नेता बडुवालले दुई जना मुक्त कमलरीलाई स्नातक तहमा पढाउने सम्पूर्ण खर्च बेहोर्ने घोषणा गरे ।
कार्यक्रममा सहभागीहरूले कमलरीका लागि शिक्षामा आरक्षणको व्यवस्था गर्न माग गरे । सहभागी गौरीगंगा नगरपालिकाका रेखा चौधरीले भनिन्– “अरूका लागि गरिए झैं कमलरीका लागि पनि छुट्टै कोटाको व्यवस्था गरिनु पर्दछ ।”
धनगढी उपमहानगरपालिकाका माया चौधरीले कमलरीका लागि शिक्षाका साथै रोजगारीको पनि व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले कमलरीका लागि नीतिगत रूपमा नै शिक्षा तथा लोकसेवामा आरक्षणको व्यवस्था हुनुपर्ने बताइन् ।
प्लान इन्टरनेशनल, नेपालका संयोजक कमला उप्रेतीले मुक्त कमलरीको नेतृत्व विकास र क्षमता अभिबृद्धि गर्ने उद्देश्यसहित परियोजना लागू गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार