नेविसंघको विरोध कार्यक्रम जारी



धनगढी । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघको विरोध कार्यक्रम जारी रहेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा बिहीबार नेविसंघले धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सरकारले मूल्यबृद्धि फिर्ता नलिए आन्दोलन झन् चर्काउने विद्यार्थीहरूले चेतावनी पनि दिएको छ ।
नेपाल विद्यार्थी संघ, कैलालीले पुत्ला दहन गर्नु अघि नेपाली काँग्रेस पार्टी कार्यालयदेखि लक्ष्मीनारायण चौकसम्म विरोध र्‍यालीको आयोजना गरेको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै नेविसंघका केन्द्रीय सदस्य विनय लामाले बाम गठबन्धनको सरकारले सर्वसाधारणको ढाड सेक्ने गरी दैनिक उपभोग्य सामग्रीका साथै पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए ।
विद्यार्थी नेता सुमन केसीले सरकारले जनतालाई विभिन्न बहानामा दु:ख दिइरहेकाले चुप लागेर नबस्ने बताए । उनले जनता र विद्यार्थीका मागबारे सुनवाई नगरे आन्दोलनको आधीबेहरी ल्याउने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्