खेलकुद विकास समितिका अध्यक्ष सिंहको सम्मान
धनगढी । देशभर नै उत्कृष्ट तेस्रो जिल्ला बन्न सफल भएको कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहलाई बुधबार धनगढीमा सम्मान गरिएको छ ।
कैलाली जिल्ला खेलकुद विकास समिति देशभरी उत्कृष्ट तीनमा परेर पुरस्कार प्राप्त गर्न सफल भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुद विकास समितिका अध्यक्ष सिंहलाई सम्मान गरेको हो ।
धनगढी रंगशालामा आयोजना गरिएको एक कार्यक्रममा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले उनलाई सम्मानपत्र प्रदान गरे ।
त्यस्तै, कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपहादुर बिष्टलाई पनि सम्मान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले कैलाली जिल्ला खेलकुद विकास समितिलाई एक लाख रुपैयाँ र ताम्रपत्र सहित देशभरकै उत्कृष्ट जिल्ला शाखाका रूपमा सम्मान गरेको थियो ।