१२ श्रावण २०८१, शनिबार

साल्टट्रेडिङले मल्टिकम्पलेक्स निर्माण गर्दै



धनगढी । साल्ट साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले धनगढीमा मल्टि कम्पलेक्स निर्माण गर्ने भएको छ । साल्टट्रेडिङ कर्पोरेशनको धनगढी उपमहानगरपालिका वडा नम्बर २, को मुख्य सडकमा रहेको पुरानो भवन भत्काएर मल्टि कम्पलेक्स निर्माण गर्ने जनाइएको छ ।
सो भवन २०४५ सालमा निर्माण भएको थियो । साल्टट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेका अनुसार पुरानो भवन जीर्ण भएको र उपमहानरपालिकाको मापदण्ड विपरित बनेकाले सो भवन भत्काएर मल्टि कम्पलेक्स निर्माण हुदैछ । उनले भने– “मल्टि कम्पलेक्स निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।”
नयाँ कम्पलेक्स निर्माण भएपछि साल्टट्रेडिङको हालको भवनमा रहेका १७ वटा स्थायी र एक अस्थायी गरी १८ वटा सटर खाली गर्न मंगलबार पत्रचार भइसकेको सहायक महाप्रबन्धक पाण्डेले बताए ।
धनगढी उपमहानगरपालिकाले गत वर्ष पुस २८ गते साल्टट्रेडिङ कर्पोरेशनको हालको भवन सडकको बीचबाट १० मिटरमात्र दूरीमा बनेकोले भत्काउन पत्राचार गरेको थियो । उपमहानगरपालिकाको मापदण्डअनुसार धनगढीको चौराहदेखि क्याम्पस रोडसम्म सडकको बीचबाट दायाँबायाँ गरी ३० मिटरभित्र र १२ मिटर सेट ब्याक हुनुपर्ने प्रावधान रहेको छ ।
धनगढीमा बन्ने मल्टि कम्पलेक्सले रोजगारीको अवसरहरू समेत सिर्जना गर्ने सहायक महाप्रबन्धक पाण्डेले बताए । उनले मल्टि कम्पलेक्समा सिनेमा हलदेखि विभिन्न बैकिङ सुविधा समेत उपलब्ध हुने बताए ।
साल्टट्रेडिङको धनगढीमा एक बिघा १६ कठ्ठा जग्गा रहेको छ । नुन भण्डारण र प्याकेजिङ समेत हुने साल्टट्रेडिङको धनगढी कार्यालयमा मल्टि कम्पलेक्स बन्ने भएपछि नुन भण्डारणका लागि अन्यत्र जग्गाको खोजी भइरहेको छ । साल्टट्रेडिङको धनगढी कार्यालयले भारतबाट ढिकेनून आयात गरी प्याकेजिङ गरेर प्रदेश सातका सबै जिल्लामा आयोडिनयुक्त नून बिक्री वितरण गर्दै आएको छ ।
त्यस्तै, दशैं तिहारको बेला सुपथ पसल सञ्चालन गरिनुका साथै रसायनिक मल समेत बिक्रीविरतण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार