९ माघ २०८१, बुधबार

मूल्यबृद्धिको विरोधमा नेविसंघद्वारा प्रदर्शन



धनगढी । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले मंगलबार धनगढीमा प्रदर्शन गरेको छ ।
संघले विरोध प्रदर्शनमार्फत मूल्यबृद्धि फिर्ता नलिए आन्दोलन झन् चर्काउने चेतावनी पनि दिएको छ ।
नेपाल विद्यार्थी संघ, कैलालीको आयोजनामा भएको विरोध र्‍याली नेपाली काँग्रेस पार्टी कार्यालय हुँदै लक्ष्मी नारायण चौकसम्ममा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा नेविसंघका केन्द्रीय सदस्य विनय लामाले बाम गठबन्धनको सरकारले सर्वसाधारणको ढाड सेक्ने गरी दैनिक उपभोग्य सामग्रीका साथै पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए ।
नेविसंघ कैलालीका कार्यवाहक अध्यक्ष भेष बमले सरकारले जनतालाई विभिन्न बहानामा दु:ख दिइरहेकाले चुप लागेर नबस्ने बताए । उनले जनता र विद्यार्थीका मागबारे सुनुनवाई नगरे आन्दोलनको आधीबेहरी ल्याउने चेतावनी दिए । कोण सभापश्चात विद्यार्थीहरूले केपी सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
नेविसंघको विरोध र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपबाट विद्यार्थी अशोक कुँवर, सन्तोष खडका, दीपेन्द्र सिंह र महेश जोशीलाई चोटपटक लागेको जनाइएको छ । नेविसंघले प्रहरी दमन विरुद्ध आज (बुधबार) कडा आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार