दीपेन्द्र बने डिसिएको प्रमुख प्रशिक्षक
धनगढी । धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले एसीसीका लेभल थ्री प्रशिक्षक दीपेन्द्र चौधरीलाई प्रमुख प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । उनी एक वर्षका लागि डिसिएको प्रमुख प्रशिक्षकका रूपमा कार्यरत रहने जनाइएको छ ।
धनगढी क्रिकेट एकेडेमी (डिसिए) द्वारा आइतबार जारी प्रेसनोटमा ‘राष्ट्रिय टोली बलियो बनाउन तल्लो तहबाटै क्रिकेटको विकासमा विशेष ध्यान दिनुपर्ने’ उल्लेख छ ।
प्रशिक्षक दीपेन्द्रले सन् १९९८ मा डेब्यु गरेका थिए । उनले सन् २०११ मा अन्तिम पटक राष्ट्रिय टोलीबाट खेलेका थिए । १३ वर्षसम्म राष्ट्रिय टोलीमा बिताएपछि उनी प्रशिक्षण कार्यमा संलग्न भएका थिए । उनले एसियाली क्रिकेट परिषद् (एसीसी) बाट लेभल थ्रीको प्रशिक्षण लिएका थिए । उनले विश्वकप छनोट खेलका क्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सहायकका रूपमा काम गरेका थिए ।
डिसिएका अनुसार हाल एकेडेमीमा ९० जना खेलाडी नियमित प्रशिक्षण लिइरहेका छन् । तीमध्ये २५ जनालाई एकेडेमीले पूर्ण छात्रवृत्तिको व्यवस्था मिलाएको जनाइएको छ ।