टीकापुर एफएमको साधारण सभा
टीकापुर । सामुदायिक रेडियो टीकापुर एफएमको पाँचौ साधारण सभा शनिबार टीकापुरमा भएको छ । साधारण सभाले संचालक समितिको अध्यक्षमा श्याम खत्रीलाई निर्विरोध चयन गरेको छ ।
साधारण सभाको प्रदेश सभा सदस्य रणबहादुर रावलले एक समारोहबीच उद्घाटन गरेका थिए । उद्घाटन समारोह एफएमका निवर्तमान कार्यवाहक अध्यक्ष केशरबहादुर कुंवरको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्रदेश सभा सदस्य रावलले सञ्चार माध्यममले जनता लडाउने नभई विकास र सद्भाव बढाउने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद उमादेवी वादीले सामुदायिक रेडियोले महिला तथा पछाडि परेका समुदायको उत्थान, विकास र हितमा गरेका कार्यको उच्च मूल्यांकन गरेको बताईन् ।
पूर्व सांसद हरि ज्ञवालीले टीकापुरमा शान्ति कायम गर्न व्यवहारिक रुपमा सबै सुध्रिन आवश्यक रहेको बताए ।
टीकापुर नगरपालिकाका उप्रमुख केशरी विष्टले नगरपालिकाको काम कर्तव्यबारे एफएमले सचेत गरिरहेको बताउंदै पारदर्शिता र सुशासन कायम गर्न खबरदारी गरिदिन आग्रह गरिन् ।
कार्यक्रममा नगर विकास समितिका अध्यक्ष रामचन्द्र शर्मा कट्टेल, रेडियोका पुर्व अध्यक्ष नवराज रावल, पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, सामाजिक संस्थाका तर्फबाट सन्त निरकारी मण्डलका नेपाल प्रभारी नर बहादुर रावल, नागरिक संस्थाका तर्फबाट लालबिर चौधरी, नगरस्तरिय कृषक समितिका सचिव जीत बहादुर चौधरी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
एफएमका स्टेशन मेनेजर एकिन्द्र तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा रेडियोका प्रवन्ध निर्देशक मातृका तिमिल्सिनाले स्वागत गरेका थिए ।