६ माघ २०८१, आईतवार

हरियो र सफा प्रदेश– वातावरण मन्त्री भट्ट



धनगढी । ७ नम्बर प्रदेशकी उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्टले प्रदेशलाई हरियो र सफा बनाउने बताएकी छिन् ।
‘प्रदेशका मन्त्रालय, स्थानीय तहमा वृक्षारोपण गराएर सबै ठाउँमा हरियो बनाउन योजना मन्त्रालयले बनाईरहेको छ’ शुक्रबार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको वातावरणीय प्रभाव मुल्यांकन विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भनिन् ‘स्वच्छ वातावरण निर्माण गर्न सबै जिम्मेवार हुन जरुरी छ ।’ उनले वातावरणीय प्रभाव मुल्यांकन नीतिलाई प्रभावकारी रुपमा अघि बढाउन मन्त्रालय कटिवद्ध भएको बताईन् ।
उनले विगतमा राजनीतिक प्रभावमा परेर कर्मचारीले नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको बताउँदै ‘अब वातावरण विग्रन नदिन लागि कार्ययोजना बनाएर अघि बढ्छौं । उनले प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, बजेटमा वातावरण संरक्षण क्षेत्रमा बजेट विनियोजन गराउने प्रतिवद्धता व्यक्त गरिन् ।
कैलाली जिल्ला वन अधिकृत नवराज काफलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी ज्ञानदत्त कोईराला, जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मन्त्रालयकी उपसचिव ज्वाला श्रेष्ठले वातावरणीय प्रभाव मूल्यांकन कार्यसंग सम्बन्धीत कानुनी प्रावधान र प्रतिवेदन स्वीकृति प्रक्रियाबारे प्रस्तुतिकरण गर्दै विभिन्न क्षेत्रका गरि तीन सय २७ आयोजनाले मन्त्रालयबाट हालसम्म वातावरणीय प्रभावक मूल्यांकन प्रस्ताव स्वीकृत भएको जानकारी दिईन् । जसअन्र्तगत जलविद्युतमा एक सय १०, विद्युत प्रसारण लाईनमा २७, सडक तथा पुलमा ३६, उद्योग स्थापनामा २९, अस्पताल, मेडिकल कलेज २४, अपार्टमेन्ट १७, खानेपानी तथा सिचाई १६, सामुदायिक वन १३, एयरपोर्ट पाँच, फोहोरमैला व्यवस्थापन ६, होटल १३ र विविध २९ रहेका छन् ।
उनले मन्त्रालयले हालसम्म ३९ वटा आयोजनामा दण्ड जरिवाना गरिसकेको जानकारी दिईन् ।
मन्त्रालयका वातावरणीय परामर्शदाता रिञ्जन श्रेष्ठले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको तयारी, यसका पक्ष एवं सरोकारवालाहरूको भूमिका विषयक प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधी, वातावरण सम्बन्धी सरोकारवालाहरू संघ/संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार